जेठ २८, काठमाण्डौ ।भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले विकास निर्माणका कामको जिम्मा लिएका ठेकेदार कम्पनीहरुले सम्झौताअनुसार काम नगरेकाले समस्या भएको बताएका छन् ।
टेलिभिजन कार्यक्रम धमलाको हमलामा ऋषि धमलासँग कुरा गर्दै महासेठले आफू मन्त्री भएपछि त्यस्ता ठेकेदारलाई चेतावनी दिएर तत्काल काम गर्ने वातावरण बनाएको दाबी गरे ।
एउटै ठेकेदारले ५० भन्दा बढि कामको जिम्मा लिएकाले पनि समयमा काम हुन नसकेको भन्दै महासेठले अब सबै समस्या समाधान गरिने बताए ।
यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईले यातायात क्षेत्रको सिन्डिकेट हटाउन सहयोग गरेको तर यसअघि २० महिना विभागमा रहँदा सिन्डिकेटबारे कुने चासो नदिएको महासेठले आरोप लगाएका छन् ।
भट्टराईसँग आफ्नो कुनै मनमुटाव नभएको, मन्त्रालयमा विशेष कामका लागि सरुवा गरिएको महासेठको दाबी छ ।
प्रधानमन्त्री केपी ओलीमा धेरै ईच्छाशक्ति रहेकाले पछिल्लो समय विहान सातबजेदेखि रातको १२ बजेसम्म काम गर्ने गरेको मन्त्री महासेठले बताए । “उहाँ शारीरिक रुपमा फिट भए पनि केही वर्ष पहिले उहाँ विरामी हुनुहुन्थ्यो । यो अवस्थामा ओलीले जति काम गर्नुभएको छ, त्यति काम गर्न मैले पनि सकेको छैन । महासेठले भने ।”
ईच्छाशक्ति भयो भने जस्तोसुकै काम पनि गर्न सकिने भन्दै महासेठले अहिलेको सरकार इच्छाशक्तिले भरिएको दाबी गरे ।
“लोग्ने मानिसलाई स्वास्नी मानिस पनि बनाउन सकिन्छ । संसारमा धेरै लोग्ने मानिसहरु स्वास्नी मान्छेको रुप लिएर आएको छ । मोडिकल साइन्सले लोग्ने मान्छेलाई स्वास्नी र स्वास्नीलाई लोग्ने मान्छे बनाएको छ । यसको अर्थमा ईच्छाशक्ति भयो भने जे पनि सम्भव छ ।” महासेठले भने ।
पाँच वर्षभित्रमा बाम गठबन्धनको घोषणापत्रमा उल्लेख गरिएका सबै कुरा कार्यान्वयन गर्ने दाबी महासेठले गरेका छन् ।