Logo

स्वास्थ्यमन्त्री यादवले मेडिसिटी अस्पतालमा पुगेर यसो भने (फोटोफिचर)



काठमाडौं, २८ जेठ । उपप्रधान एवम् स्वास्थ्यमन्त्री उपेन्द्र यादवले काठमाडौं उपत्यकामा मेडिकल कलेज खोल्न पाइँदैन भन्नु आतिवादी सोच भएको बताएका छन्।

आईतबार मधेसी डक्टर्स एशोसिएसनले नेपाल मेडिसिटी हस्पिटलमा आयोजना गरेको कार्यक्रममा मन्त्री यादवले यस्तो बताएका हुन् । उनले काठमाडौं उपत्यकामा मापदण्ड र पूर्वाधार पुगेका संस्था खुल्न पाउनुपर्ने धारणा राखेका हुन् ।

मन्त्री यादवले भने,‘काठमाडौंमा मेडिकल कलेज नै खोल्न पाइँदैन भन्नु त अतिवादी सोच हो, स्टयान्डर्ड कलेज खुल्नुपर्छ, काठमाडौंमा खुल्नुपर्छ, तराईमा खुल्नुपर्छ, जहाँ सम्भावना छ त्यहाँ खुल्नुपर्छ। तर त्यसको मापदण्ड हेर्नुपर्छ।’

त्यस्तै मन्त्री यादवले प्रदेश नम्बर २ मा छिट्टै सरकारी स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना हुने पनि विश्वास दिलाए । यादवले प्रतिष्ठान निर्माणको काम अब छिट्टै अगाडि बढ्ने जनाए ।

उनले भने,‘सबै प्रदेशमा प्रतिष्ठान खोल्ने नीति अनुसार प्रदेश २ मा पनि खोलिने छ, अब यो काममा मेरो प्रयास अगाडि बढ्छ।’ उनले अन्य प्रदेशमा स्थापना भएका प्रतिष्ठानका समस्या पनि समाधान गर्दै लैजाने बताए ।

मन्त्री यादवले जनकपुरलाई स्वास्थ्य हबका रुपमा विकसित गरिने पनि बताए। ‘काठमाडौंमा भन्दा जनकपुरमा प्रचुर सम्भावना छ,’ उनले भने, ‘त्यसकारण जनकपुरलाई स्वास्थ्य हवका रुपमा विकसित गर्दै देशकै लागि उदाहरणिय बनाउनु पर्छ।’

मन्त्री यादवले चिकित्सा शिक्षालाई सहज बनाउनु पर्नेमा पनि जोड दिए। उनले समयसापेक्ष नीति बनाउने कुरामा पनि आफू लागिरहेको जानकारी दिए।

कार्यक्रममा मेडिसिटी अस्पतालका अध्यक्ष डा. उपेन्द्र महतोले आफूहरुले मेडिकल कलेज चलाउन पाउनुपर्ने माग राखेपछि स्वास्थ्यमन्त्री यादवले जवाफमा मेडिकल कलेज खोल्न पाउनुपर्ने धारणा राखेका हुन्।

डा. महतोले आफ्नो अस्पतालमा मेडिकल कलेज सञ्चालनका लागि आवश्यक पूर्वाधार र मापदण्ड पुरा भएको भन्दै मेडिकल कलेज सञ्चालन गर्न पाउनुपर्ने बताए ।  महतोले भने,‘यतिधेरै पूर्वाधार भएको र दक्ष जनशक्ति भएको अस्पताललाई मेडिकल कलेज चलाउन किन नदिने ? हामी नेपाली विद्यार्थीलाई मात्र होइन शतप्रतिशत विदेशी विद्यार्थी ल्याएर पनि पढाउन सक्छौं।’ उनले मेडिकल कलेजमा विदेशी विद्यार्थीको कोटा तोक्नु पनि गलत भएको बताए।

डा. महतोले मधेश समथर भएपनि अझैपनि विकासको दृष्टिकोणले धेरै पछि नै रहेको बताए । उनले सिरहामा त्यतिवेला एक जना एमबिबिएस डाक्टर नहुँदा आफूले आमा गुमाउनुपरेको पीडादायी विगतको स्मरण गर्दै भने,”मैले यो मेडिसिटी खोलेको एउटै सपना हो, नेपाललाई तीनदेखि पाँच वर्षभित्र कसरी ईन्टरनेश्नल मेडिकल हबको रुपमा विकास गर्ने भन्ने अभियानमा लागिसकेको छु, मलाई तपाईहरुको साथ, सहयोग र आर्शिवाद चाहिएको छ।”

गर्न नसक्ने कुरा मानिसले धेरै गर्ने गरेको उनले सुनाए ।  नेपाललाई समृद्ध बनाउन धेरै आन्दोलन गर्नु नपर्ने तर यसको लागि काम गर्नुपर्ने बताए । वर्षसम्म एकपटक स्वास्थ्य परिक्षण गराउनुपर्ने पनि उनले सुनाए ।  नेपालको समृद्धि नै सम्पूर्ण नेपालीहरुको ईज्जत हुने महतोको भनाई थियो । उनले भने, “तपाई हाम्रो पासपोर्टमा नेपाल लेखेको हुन्छ ।”

महतोले समाजको गुण तिर्नको लागि सबैले आ आफ्नो ठाउँबाट टेवा पुर्याउनुपर्ने पनि सुझाए । उनले भने,”प्रत्येक व्यक्तिले के कुरा बुझ्नुपर्छ भने हामीसँग जे छ, त्यही सहयोग गर्नुपर्छ । पैसा र बुद्धि बाँडेर मात्रै हुँदैन, आत्मविश्वास ठूलो कुरा हो । गाउँमा गएर आत्मविश्वास दिलाउन सक्नुपर्छ । यसको लागि पैसा लाग्दैन ।”

नेपाल समृद्धिको बाटोमा हिँडिसकेको बताउँदै उनले अब पनि मुलुकको समृद्धिको लागि केही गर्न नसके भावी पुस्ताले माफ नगर्ने बताए । उनले भने, “अब हामीले बच्चाहरुलाई शिक्षासँगै संस्कार दिनुपर्छ । नेपालको समृद्धिको बाटोमा बल्कमा लगानी भित्र्याउनुपर्छ, यो भनेको हाईडोपावर नै हो । तर यसको लागि हामीले अर्को देशको भर पर्नुपर्छ, नेपालको वास्तविक समृद्धि भनेको शिक्षा, स्वास्थ्य, पर्यटन र कृषि नै हो । मुख्य पिलर नै हाम्रो यही नै हुन्, यसमा पनि शिक्षा र स्वास्थ्य झनै महत्वपूर्ण छ । “



प्रतिक्रिया दिनुहोस्