Logo

ट्रम्प र उनले रचे इतिहास, केके भयो वार्तामा (तस्विर)



जेठ २९, काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोंग उनबीच सिंगापुरमा ऐतिहासिक भेटवार्ता भएको छ ।

सिंगापुरको सान्तोसा टापुस्थित क्यापिला होटलमा अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली उनबीच करिब ५० मिनेट भेटवार्ता भएको हो । वार्तामा दुवै पक्षबाट दोभाषेको व्यवस्था गरिएको थियो ।

भेटवार्तापछि ट्रम्पले छलफल निकै राम्रो भएको प्रतिक्रिया दिएका छन् । उनसँगको भेटपछि ट्रम्पले भने, ‘हामी दुईबीच राम्रो सम्वन्ध छ । म र किम मिलेर ठूला समस्याको समाधान निकाल्ने छौं । हामी मिलेर काम गर्ने छौं । हामीले हरतरहले उत्तर कोरियाको ध्यान राख्नेछौं । म यो वार्ताबाट निकै आश्वस्त छु । हामीलाई सफलता मिल्ने छ र हाम्रो सम्बन्ध पनि शानदार रहने छ ।’

वार्तामा अमेरिकाको तर्फबाट विदेश मन्त्री माइक पोम्पियो र राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टन पनि थिए । तर, उत्तर कोरियाको तर्फबाट वार्तामा अरु कोको थिए भन्ने सार्वजनिक गरिएको छैन ।

वार्ता सुरु हुनुअघि दुवैले हात मिलाएर एकअर्कालाई स्वागत गरेका थिए । त्यसलगत्तै पत्रकारहरुलाई प्रतिक्रिया दिँदै किमले भनेका थिए, ‘यहाँसम्म आउन सहज थिएन । हाम्रा पुराना मान्यताहरुले रोकेका थिए तर हामीले त्यसलाई तोड्यौं र आज हामी यहाँ छौं ।’

किमले ट्रम्पसँगको वार्ताका दृश्य विश्वले हेरिरहेको र उनीहरुलाई कुनै काल्पनिक फिल्मको दृश्य झैं लागिरहेको हुनसक्ने प्रतिक्रिया दिएका थिए ।

सिंगापुरमा भएको ऐतिहासिक शिखर वार्ताले कोरियन प्रायद्वीपलाई आणविक निस्शस्त्रीकरण गर्ने र स्थायी शान्ति स्थापना हुने विश्वास गरिएको छ ।

किमले सन् २०११ मा देशको शासनसत्ता सम्हालेयता तेस्रो देशमा पाइला टेकेका हुन् । यसअघि उनी दक्षिण कोरिया तथा चीनको भ्रमणमा निस्केका थिए । चीन उत्तर कोरियाको निकटस्थ राष्ट्र हो । किम गत अप्रिल महिनामा दुई कोरियाबीच भएको शिखर वार्ताका क्रममा दक्षिण कोरिया पुगेका थिए ।

यी दुई नेताबीचको वार्ता निष्कर्षमा पुगे उत्तर(पूर्वी एशियामा स्थायी शान्ति बहाल हुने छ । सन् १९७२ मा अमेरिकी राष्ट्रपति रिचर्ड निक्सनले चीन भ्रमण गरेसँगै चीनमा आएको परिवर्तन झैं, ट्रम्प–किम वार्ताले पनि उत्तर कोरियामा परिवर्तन हुनसक्ने आंकलन भइरहेको छ ।

अहिले विश्वमै सबैभन्दा चर्चा भएको वार्ताका लागि दुई नेता सन्तोसा टापुमा स्थित क्यापिला होटलमा आ(आफ्ना लिमोजीनबाट ओर्लिँदा भने केही ’नर्भस’ देखिएका थिए । तर दुईबीच भेट भएको केही क्षणमा नै दुवैजनाले केही सहज महसुस गरेको देख्न सकिन्थ्यो । उनीहरु दुवैजना मुस्कुराई रहेका थिए भने फोटोग्राफरको आग्रहमा पटकपटक हात पनि मिलाइरहेका थिए ।



प्रतिक्रिया दिनुहोस्