Logo

विश्व योग दिवसका लागि मूल समिति गठन



काठमाडौँ, ३० जेठ : चौथो विश्व योग दिवस नेपालमा भव्यताका साथ मनाउन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा १२९ सदस्यीय मूल समिति गठन भएको छ ।

मन्त्रालयमा आज आयोजित मूल समितिको पहिलो बैठकमा यस क्षेत्रका सरकारी, सामाजिक क्षेत्रका व्यक्ति, संस्था एवं विद्यालयलाई परिचालन गरी उक्त दिवस मनाउने निर्णय भएको हो । समितिमा सम्बद्ध क्षेत्रका पदाधिकारीको प्रतिनिधित्व छ । जुन २१ (असार ७) मा विश्वभर विश्वभर योग दिवस मनाइन्छ ।

मन्त्री पोखरेलले योग र ध्यानलाई केन्द्रमा राखेर अभियानका रुपमा दिवस मनाउन आग्रह गर्दै योग एक खोजमूलक अनुसन्धानसमेत भएकाले आधुनिक जीवनशैलीले ल्याएको परिवर्तनलाई अनुकूल बनाउन योगको महत्व हुने बताउनुभयो । उहाँले योगलाई जीवनोपयोगी शिक्षा र स्वास्थ्यसँग जोड्दै विद्यालय तहदेखि योग शिक्षा र अभ्यास गराउनुपर्नेमा जोड दिनुभयो ।

बैठकका सहभागीहरुले सरकारी निकाय भित्रैबाट योग र अभ्यास बढाउनुपर्ने, थकान र तनाव मेट्ने उपाय अवलम्बन गर्नुपर्ने, सञ्चार माध्यमबाट प्रचार–प्रसार गर्नुपर्ने, सम्बन्धित संस्थाहरुबीच समन्वय हुनुपर्ने, साताव्यापी रुपमा दिवस मनाइनुपर्ने सुझाव दिएका थिए ।मूल समितिले विभिन्न उपसमितिसमेत गठन गरेको छ । (रासस)



प्रतिक्रिया दिनुहोस्