Logo

सरकारमा सहभागिताबारे राजपामा विवाद : ठाकुर, महतो सकारात्मक



काठमाडौं २ असार ।
सरकारमा सहभागिताबारे राष्ट्रिय जनता पार्टीमा विवाद देखिएको छ । सरकारलाई हेर्ने दृष्टिकोणमै राजपा नेताहरूमा तीन धार देखिएको हो । एउटा पक्ष सरकारमा जाने र अर्को पक्ष जान नहुने पक्षमा छन् । तेस्रो पक्ष भने तटस्थ छ । तर, सरकारमा जानुपर्ने धार नै बलियो देखिन्छ ।

राजपा अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुरले प्रधानमन्त्री केपी ओलीसँग छलफल गरेका छन् । सरकारमा जान तयार भए पनि वातावरण बनिनसकेको राजपाका नेताहरूले बताउने गरेका छन् । अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले सरकारमा सहभागिताबारे छलफल भए पनि कुनै प्रगति नभएको बताए ।

तीन धारका तीन धारणा
राजेन्द्र महतो, शरत्सिंह भण्डारीलगायत सरकारमा जानुपर्ने पक्षमा छन् । अनिल झा र महेन्द्र राय यादव सरकारमा जानै नहुने अडानमा छन् । राजकिशोर यादव भने तटस्थ छन् । केही समयअघि महन्थ ठाकुर पनि तटस्थ नै थिए । तर, अहिले प्रधानमन्त्रीसँग छलफलमा छन् ।

राजपा स्रोतका अनुसार अहिले सरकारमा जाने मत बलियो बन्दै गएको छ । केही दिनअघि महोत्तरीको एक कार्यक्रममा ठाकुरले सरकारका जान सकिने संकेत नै गरेका थिए । सोही दिनको अर्को कार्यक्रममा नेकपा अध्यक्ष प्रचण्डले राजपालाई सरकारमा ल्याउन छलफल भइरहेको बताएका थिए । ठाकुर गत हप्ता तराई जानुअघि प्रधानमन्त्रीसँग छलफल गरेको राजपा स्रोतले बतायो ।

सरकारमा जान नकारात्मक छैनौँ : शरत्सिंह भण्डारी

हामीले समर्थन गरेर नै सरकार बनेको छ । हामी सरकारमा नगएको सत्तापक्ष हौँ । तर, सरकारमा सहभागी हुन संविधान संशोधनका केही आधार देखिनुपर्छ । आन्दोलनका झुटा मुद्दा फिर्ता गरे वातावरण बन्छ । सरकारमा जानेबारे म, राजेन्द्र महतो र महन्थ ठाकुुरले पनि नकारात्मक छैनौँ ।

छलफल भएको छ, तर प्रगति केही छैन : राजेन्द्र महतो
सरकारमा जानेबारे छलफल भएको छ । तर, प्रगति भएको छैन । सरकारमा जानुअगाडि संविधान संशोधन र आन्दोलनका झुटा मुद्दा फिर्ता त हुनुप¥यो नि ।

दुई मन्त्रालय दाबी
राजपाले दुई मन्त्रालय दाबी गर्दै आएको छ । प्रतिनिधिसभामा १७ सिट जितेको राजपा प्रतिनिधिसभाको तेस्रो ठूलो दल हो । सोही कारण आफूहरूले कम्तीमा २ वटा मन्त्रालय पाउनुपर्ने तर्क छ । साथै, उसले एक राज्यमन्त्री पनि खोजेको छ । संघीय समाजवादी फोरम २ मन्त्रालयसहित सरकारमा गइसकेको छ । फोरमबराबर हैसियत पाउनुपर्ने राजपाका एक नेताले बताए । संविधानमा बढीमा २५ सदस्यीय मन्त्रिपरिषद्को व्यवस्था छ । अहिले २४ मन्त्री छन् ।
नयाँपत्रिकाबाट साभार



प्रतिक्रिया दिनुहोस्