Logo

सरकारको प्रभावकारीताका लागि नयाँ ऐन आवश्यक : मुख्यमन्त्री पौडेल



हेटौँडा, २ असार (रासस) ः ३ नं प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशका नागरिकको लागि व्यक्तिगत स्वतन्त्रता, सुरक्षाको अनुभूति गर्न नयाँ ऐन कानून तर्जुमा गरिने बताउनुभएको छ ।

मुख्यमन्त्री पौडेलले प्रदेशसभाअन्तर्गतको प्रदेश मामिला समिति र नेपाल कानून समाजद्वारा आयोजित संसदीय अभ्यास र कानून निर्माण प्रक्रियामा सांसदको भूमिका विषयमा आज यहाँ आयोजित दुई दिने अनुशिक्षण कार्यक्रमको शुभारम्भ गर्दै सो कुरा बताउनु भएको हो ।

प्रदेशको १३ जिल्लालाई समृद्ध बनाई सर्वसाधारण नागरिकलाई सुुशासनको माध्यमबाट दिगो शान्ति, सुरक्षाको साथै न्यायको अनुभूति गर्न र आर्थिक समृद्धितर्फ आत्मनिर्भर तुल्याउन सरकारले अहिले नीति कार्यक्रम र बजेट ल्याएको उल्लेख गर्नुभएको छ ।

सोे अवसरमा प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले प्रदेश सरकार र प्रदेशसभाको बीच सरकारले सहकार्य गरेर प्रदेशसभामा आवश्यक कानूनको मस्यौदा तयार पार्न कानूनी प्र्रशिक्षण आवश्यक रहेको चर्चा गर्दै प्रदेश सरकारले जनतालाई सुशासन, भ्रष्टाचार उन्मूलन गर्ने क्रियाकलापलाई प्रोत्साहन गरी प्रदेशस्तरमा ऊर्जा, पर्यटन र कृषि उत्पादनलाई उच्च प्राथमिकताका साथ कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।

सो कार्यक्रममा आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जमकटेलले प्रदेशस्तरमा प्रहरी ऐन, अनुसन्धान ब्यूरो र प्रादेशिक लोकसभा आयोगको स्थापना गर्न राष्ट्रिय सरोकार र सरकारको काम कारबाही र कार्य क्षेत्रलाई प्रभावकारी बनाउन सरकारले अहिले ९९ वटा विधेयकको मस्यौदा तयार गरी आगामी आव ०७५÷०७६ भित्र सो कानून निर्माण गरी सकिने बताउनुभयो ।

उक्त कार्यक्रममा प्रदेश मामिला समितिका सभापति माधव पौडेल, ३ नं प्रदेशका मुख्यन्यायाधिवक्ता सूर्यचन्द्र न्यौपाने, प्रदेशसभाका उपसभामुख राधिका तामाङ र नेकपा (नेकपा) संसदीय दलका प्रमुख सचेतक रामेश्वर फुयालले मुलुकमा राजनीतिक परिवर्ततसँगै संघीयताको अभ्यासको पहिलो चरणमा कानूनी प्रक्रियाको ज्ञान, संसद्, संसदीय अभ्याससम्बन्धी सैद्धान्तिक पक्षमा र बैठक सञ्चालन विधिबारे प्रदेशसभाका सदस्यले जानकारी लिन आवश्यक रहेको धारणा राख्नुभयो ।



प्रतिक्रिया दिनुहोस्