Logo

‘प्रोटोकलको बारेमा कागजपत्र आदानप्रदान भइरहेको छ, हस्ताक्षर हुन्छ’



प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका तयारी पूरा भएको छ । ओली ५ गते चीन प्रस्थान गर्दैछन् । चीन भ्रमणपछि नेपाललाई केके फाइदा हुन्छ त ? यिनै विषयमा केन्द्रित रहेर परराष्ट्रविद तथा नेकपाका नेता राजन भट्टराईसँग ऋषि धमलाले कुराकानी गरेका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि गरिएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका क्रममा केके सम्झौता हुन्छ ?
मैले अहिले नै आधिकारिक रुपमा सहमतिका बुँदाहरु भन्ने कुरा भएन । तर मैले बुझेअनुसार दुई वर्ष अगाडि प्राथमिकतामा राखेर गरिएको सम्झौताका विषयलाई कार्यान्वयनमा लिएर जाने र व्यवहारमा उतार्नु नै भ्रमणको प्रमुख उद्देश्य छ । चिनियाँ लगानी नेपालमा भित्र्याउने र रोजगारी सृजना गरेर विकास र समृद्धिको लक्ष्य हासिल गर्नका लागि भ्रमण केन्द्रित रहनेछ ।

ओलीको चीन भ्रमणमा पारवाहन तथा यातायात सम्झौता कार्यान्वयन गर्न ‘प्रोटोकल’मा हस्ताक्षर हुने पक्का हो ?
भ्रमणको क्रममा सडक, रेललगायतका पूर्वाधार क्षेत्रहरु, विद्युत, पर्यटन र सिँचाईको विकासको लागि सघन रुपमा कुराकानीहरु भैरहेको छ । मैले पाएको जानकारीअनुसार प्रोटोकलको बारेमा कागजपत्र आदानप्रदान भइरहेको छ । त्यसआधारमा प्रोटोकलमा सही हुन्छ भनेको हुँ । अघिल्लोपटक प्रधानमन्त्री हुँदा ओलीले २ वर्षअघि चीनसँग १० बुँदे ऐतिहाँसिक सम्झौता गर्नुभएको थियो, अब ती सबै सम्झौताहरुलाई कार्यान्वयन गर्नुपर्छ, पारवाहन तथा यातायात सम्झौता त नेपालको लागि ऐतिहाँसिक तथा महत्वपूर्ण नै हो ।

नेपालमा लगानी गर्न चीन तयार भएको हो ?
चीनले नेपालमा लगानी गर्ने कुरा महत्वपूर्ण पाटो हो । नेपालमा लगानीका लागि वातावरण अनुकूल छ भन्ने सन्देश दिनु हाम्रा लागि अत्यन्त महत्वपूर्ण छ । चीनले युरोपियन देश लगायत विश्वभर लगानी बढाउँदै लगेको छ । त्यसैले नेपालको उद्योग र पूर्वाधार क्षेत्रमा लगानी बढाउन चीनलाई आश्वस्त पार्न सक्नुपर्छ ।

चीनले विगतमा पनि लगानी प्रतिवद्धता जनाएको थियो । तर कार्यान्वयन भएको छैन नि ?
नेपालमा चीनले लगानी बढाउँदै लगेको छ । पर्यटन, होटल, सिमेन्ट लगायतका क्षेत्रमा चीनले लगानी बढाएको छ । तर प्रतिवद्धता र सहमतिअनुसार सबै कार्यान्वयन भएको त मैले पनि देखेको छैन । सामान्यतया चीन नेपालको पहिलो लगानीकर्ता बन्दै गएको छ । नेपालमा लगानी गर्ने सवालमा चीनले भारतलाई पनि उछिनेको छ । चीनको लगानीलाई हामीले आफ्नो पक्षमा पार्नका लागि गृहकार्य बढाउनु जरुरी छ ।

भारतले नेपालमा थप चारवटा हवाई रुटको अनुमति दिएको छ । यसलाई कसरी लिन सकिन्छ ?
नेपालले भैरहवा, पोखरा र निजगढमा विमानस्थल बनाउँदै छ । ति विमानस्थलमा क्षेत्रीय र अन्तराष्ट्रियस्तरका उडान गर्नका लागि सहज हुन्छ ।



प्रतिक्रिया दिनुहोस्