असार ४, काठमाण्डौ । पाँचपटकको विश्व विजेता ब्राजिल पहिलो खेलमा जित निकाल्न असफल भएको छ ।
ब्राजिल सन् १९७८ पछि पहिलो पटक विश्वकपको पहिलो खेलमा जित हात पार्न असफल भएको हो ।
उपाधिको प्रमुख दावेदार मानिएको ब्राजिललाई स्वीट्जरल्याण्डले १–१ को बराबरीमा रोकेको हो ।
नेयमारबाट उच्च प्रदर्शनको अपेक्षा गरिएको ब्राजिलले पहिलो हाफमा लिएको अग्रता जोगाउन नसक्दा स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरीमा रोकिएको हो ।
साविक विजेता जर्मनी मेक्सिकोसँग स्तब्ध भएको दिन ब्राजिलले भने फिलिपे काउटिन्होको गोलमा पहिलो हाफमा अग्रता बनाउन सफल बनेको छ ।
खेलमा ब्राजिलले सुरुवाति अग्रता पनि लिएको थियो । २० औं मिनेटमा फिलिप काउटिन्होले गोल गरेका थिए ।
प्रशिक्षक टिटेको नेतृत्वमा रहेको ब्राजिलले नेइमारसँगै गाब्रियल जेसिस र विनियनलाई अगाडि खेलाएको थियो । तर, ५० औं मिनेटमा स्टीभन जुवेरले बराबरी गोल गरे ।
यो बराबरीले ब्राजिलको लगातार ९ खेलको विजयी यात्रामा पनि पूर्ण्विराम लगाएको छ । समूह ईमा रहेको दुबै टोलीले अब सर्विया र कोष्टारिकासँग खेल्न बाँकी छ ।
पहिलो खेलमा जित निकाल्न नपाएसँगै ब्राजिलमाथि दबाब बढेको छ । यही समूहको सर्बियाले कोस्टारिकालाई जितेर तीन महत्त्वपूर्ण अङ्क पाइसकेको छ । ब्राजिलको अर्को खेल शुक्रबार कोस्टारिकासँग हुनेछ ।