Logo

मुलुकको स्रोत, साधन र छिमेकीको साथ नै देश विकासको आधार : ओली



असार ६, बेइजिङ । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले चीनसँगको आपसी मैत्री सम्बन्धलाई माथि उठाउन सुदृढ विश्वास, अपेक्षा र सद्भाव बोकेर भ्रमणमा निस्किएको बताएका छन् ।

नेपालको विकासका लागि चीनको भूमिका महत्वपूर्ण रहेको भन्दै ओलीले भने, ‘अलिकति भिन्न र उन्नत परिवेशमा भएको मेरो दोस्रोे भ्रमण फलदायी हुनेछ । नेपाल र चीनबीचको सम्बन्धलाई सुदृढ बनाउनेछ र गहिराइमा पुर्याउनेछ,’

ओलीले मुलुकभित्रको स्रोत, साधन र छिमेकीको साथ लिएर समृद्ध नेपालको सपना पूरा गरिने बताएका छन् ।

सरकारी र निजी क्षेत्रका संस्थासँगको सम्झौतामा हस्ताक्षर गर्न बेइजिङस्थित नेपाली दूतावासमा आयोजित समारोहमा आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संयुक्त लगानी र विभिन्न ढाँचाको लगानी तथा सहकार्यबाट दुवै देशका जनताले लाभ लिन सक्ने बताए ।

विभिन्न आठ सम्झौतापत्रमा हस्ताक्षर हुनुले दुई देशको मित्रता, समझदारी र सहकार्य अगाडि बढाउन योगदान गर्ने तथा यसले नेपालको आर्थिक उन्नती र दुवै देशका जनताको हित हुनेमा आफू विश्वस्त रहेको उनले बताए ।

प्रधानमन्त्री ओली पहिलोपटक सन् २०१६ को मार्चमा चीनको औपचारिक भ्रमण गरेका थिए ।

नेपालको व्यापार घाटा कम गर्न, आयात कम गर्न र निर्यात बढाउन चिनियाँ सहयोगको अपेक्षा गर्दै प्रधानमन्त्रीले संविधान जारी भएपछिको निर्वाचनबाट नयाँ, स्थायी र स्पष्ट प्रतिबद्धताको सरकार बनेको अवस्थामा सुशासन र विकासका लागि अनुकूल वातावरण सिर्जना भएको पनि बताए ।



प्रतिक्रिया दिनुहोस्