काठमाडौं, ६ असार । फिफा वल्र्डकपका सुरुवाती खेलहरुमा बिजेताका दाबेदार मानिएका देशहरु र उक्त देशका स्टार खेलाडीहरुको प्रर्दशनी अपेक्षित छैन । यसले उनीहरुको समर्थकलाई समेत निराश तुल्याएको छ ।
विश्वकपको सुरुवातदेखि नै सबैको नजर चर्चित खेलाडीहरु मेस्सी, नेमार, रोनाल्डो र मुल्लरजस्ता प्रसिद्ध खेलाडीहरुमा थियो तर रोनाल्डोलाई छोडेर अरु बाँकी खेलाडीहरुले सोचेजस्तो राम्रो खेल्न सकेनन् ।
नेमारको कारणले यसपटकको विश्वकप ब्राजिलले जित्ने सम्भावना देखेका शुभचिन्तकहरुलाई यो खबरले दुःखी बनाएको छ । नेमार आजभोलि घुँडा दुखाईको समस्याबाट पीडीत रहेका छन् र यसैको कारणले उनले आफ्नो अभ्यास खेलको बिचैमा छोडेर फर्किनुपरेको छ ।
उनको घुँडा दुखाईको समस्या कहिले ठीक हुने भन्नेबारे कुनै जानकारी नभएपनि गु्रप –ई मा कोस्टारिकाविरुद्धको खेलसम्ममा उनी मैदानमा उत्रिने अनुमान गर्न सकिन्छ ।
सामाचार एजेन्सी एफएको रिपोर्ट अनुसार नेमारलाई खेलको सिलसिलामा फुटबलाई किक हान्न अप्ठेरो भईरहेको छ । चोटकै कारण उनी आफ्नो टिम छोडेर फीजियोथेरापिस्ट रोड्रिगो माजियोट्टीसंग फर्किएका थिए ।
ब्राजिलका तर्फबाट फीजियोथेरापिस्ट रोड्रिगोले जारी गरेको बयानमा नेमार घुँडाको समस्याबाट ग्रसित भएको जानकारी गराएका छन ।
पहिलो खेलमा स्विजरल्याण्डसंग १–१ को बराबरी खेलेको ब्राजिलले पर्सि शुक्रबार कोस्टारिका बिरुद्ध खेल्ने छ ।कोस्टारिकालाई सर्वियाले ०–१ को अन्तरले पराजित गरेको थियो ।