Logo

आप्रवासी नीतिप्रति राष्ट्रपति ट्रम्प केही लचिलो



वासिङ्टन, ७ असार / अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आप्रवासी नीतिप्रति केही लचिलो हुनुभएको समाचार छ ।

अमेरिकामा रहेका कुनै कागजात नभएका अथवा दर्ता नगरिएका आप्रवासीका बालबालिकालाई आमावावुबाट छुट्याएर अलग्गै गर्ने नीति यसअघि राष्ट्रपति ट्रम्प प्रशासनले ल्याएको थियो ।

राष्ट्रपति ट्रम्प अमेरिकामा निर्वाचित भएपछि यो नीति आएको थियो । यो अमेरिकी नीतिको अन्तर्राष्ट्रिय रूपमा व्यापक मात्रामा आलोचना भएको थियो ।

अमेरिकाजस्तो देशले पनि आफ्ना आमावावुसँगै बालबालिका पनि बस्न पाउनुपर्ने अधिकारको विरुद्धमा रहनु दुःखद भन्दै उहाँको व्यापक मात्रामा विरोध भइरहेकै बेला उहाँले उक्त निर्णयलाई उल्ट्याउने हुनुभएको हो ।

अमेरिकी राष्ट्रपति ट्रम्पले आप्रवासीका आफ्ना परिवारका सदस्य र बालबालिकालाई पनि साथैमा रहन अनुमति दिने आदेश दिनुहुने भएको हो । उहाँले यस नयाँ नीति समेटिएको आदेशमा बुधबारै हस्ताक्षर गर्ने बताइएको छ ।

यो निर्णय उहाँको नीतिको विरोध भएकोले भन्दा पनि त्यहाँका बालबालिकाको तस्बिर हेरर आफू पनि विचलित भएको ट्रम्पले बताएका छन् ।

सो नीति उल्टिनेगरी बुधवार हस्ताक्षर भएपछि राष्ट्रपति ट्रम्पले परिवारलाई एकै ठाउँमा बस्न दिइने पनि वासिङ्टनबाट प्राप्त भएका समाचारहरुमा बताइएको छ ।

तर आजको सो समाचारमा ती आदेशहरु कहिलेदेखि लागू हुने हुन् भन्ने बारेमा भने केही बताइएको छैन । यो आदेशपछि पनि आफ्नो प्रशासनले अमेरिकामा आप्रवासीहरूको बढ्दो सङ्ख्या रोक्ने कार्यमा भने कुनै बाधा नपुग्ने पनि अधिकारीहरुले बताएका छन् ।

परिवारहरूलाई सँगै बस्न दिने त हो तर पनि हामी हाम्रो सीमा बलियो बनाउन चाहन्छौँ–अमेरिकी राष्ट्रपतिले भन्नुभएको छ ।

यसरी आगामी दिनमा पनि यस नीतिमा कडाई नगर्ने हो भने पनि वर्षेनी दशौँ लाख आप्रवासी अमेरिका आउनसक्ने र अमेरिका देश नै आप्रवासीले भरिने खतरा रहने राष्ट्रपति ट्रम्पले बताउनुभयो ।

उहाँले भन्नुभयो– परिवारहरू सँगै बस्न त पाउने भए तर पनि आफ्नो देशको सीमा बलियो बनाउने र आफ्नो देशमा शान्ति सुरक्षा कायम गर्ने पनि हाम्रो अधिकार हो । (रासस/एएफपी)



प्रतिक्रिया दिनुहोस्