मीन राज भण्डारी : काठमाडौं, ९ असार । चर्चित पत्रकार ऋषि धमलाकी पत्नी एलिजा गौतम धमलाको बेजोड प्रस्तुति रहेको चलचित्र ‘अनुराग’को प्रर्दशन मिति सार्वजनिक गरिएको छ ।
साउन २५ गतेबाट देशभरिका चलचित्र हलहरुमा एकसाथ प्रर्दशनमा आउन लागेको ‘अनुराग’ सांगीतिक प्रेम कथामा आधारित चलचित्र हो ।
नव–निर्देशक सत्यराज चौलागाँईले डेब्यु गरेको ‘अनुराग’ मा नायिका एलिजा गौतमका साथमा नवनायक समुन्द्र पण्डित र ठिलेन लामाको मुख्य भुमिका रहेको छ । चलचित्रमा राजाराम पौडेल, सरोज खनाल, रुपा राणा, विश्व बस्नेत, शिशिर राणा र मोहन निरौला लगायत कलाकारहरुले अभिनयमा साथ दिएका छन ।
दर्शकहरुमाझ निकै रोमाञ्चक एक साङगीतिक प्रेम कथा बोकेर आउन लागेको ‘अनुराग’ लाई एरिका फिल्मस्को ब्यानरमा तयार पारिएको हो । भरत गौतम र गीता भेटवाल प्रोड्युसर रहेको उक्त चलचित्रका लागि लाइन–प्रोड्युसर दिपक गौतम रहेका छन । त्यस्तै निर्माण नियन्त्रकका रुपमा नविन पुरी रहेका छन् ।
ताराप्रकाश लिम्बु र सरोज पोखरेलको समुधुर संगित रहेको ‘अनुराग’मा प्रताप दास, सुगम पोख्रेल, अञ्जु पन्त र ताराप्रकाश लिम्बुले स्वर भरेका छन् ।
प्रविन सिंह र विक्रम स्वाँरको करियोग्राफी, किरण दाहालको कथा, सत्यराज चौलागाँई र आगत केसीको पटकथा तथा संवाद रहेको चलचित्रको रामकुमार केसीले छायाँकन गरेका हुन । चलचित्र ‘अनुराग’का लागि ओ.एस.आर. युटुयुब च्यानल डिजिटल पार्टनर रहेको छ ।