संयुक्त राष्ट्रसंघ, १० असार : इथियोपियाका नवनिर्वाचित प्रधानमन्त्री अविय अहमदलाई लक्ष्यगरी शनिबार गरिएको हत्या प्रयासको संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुथ्रेसले निन्दा गर्नुभएको छ ।
प्रधानमन्त्री अहमदको सम्मानमा शनिबार आयोजना गरिएको विजय जुलुसपछिको सम्बोधनका क्रममा आतङ्ककारी हमला भएको थियो । विष्फोटमा परी कैयौँ सर्वसाधारणको मृत्यु भएको थियो ।
इथियोपियाको राजधानी अदिस अबाबामा आयोजित ¥यालीपछि उहाँले दशौँ हजारको सङ्ख्यामा उपस्थित समर्थक तथा शुभेच्छुकहरुलाई सम्बोधन गर्ने क्रममा अकस्मात विस्फोटक पदार्थबाट आक्रमण भएको थियो ।
सम्बन्धित समाचार :
राष्ट्रसंघीय मानवअधिकार परिषद्बाट अमेरिका अलग
कोरियाली प्रायद्वीपको आणविक निशस्त्रीकरणका लागि ट्रम्प किम सम्मेलन ‘कोशेढुङ्गा’ : राष्ट्रसंघ प्रमुख
नेपालमा रहेको राष्ट्रसंघको राजनीतिक विभाग बन्द हुने
लिबियाको जेलमा राखिएका पत्रकार रिहा गर्न राष्ट्रसंघको माग
प्रधानमन्त्रीले सम्बोधन गर्ने क्रममा उहाँलाई नै लक्ष्य गरेर प्रहरीको पोशाकमा रहेका केही व्यक्तिले ग्रिनेड हानेका थिए । प्रधानमन्त्री भने सो आक्रमणबाट बच्नुभएको थियो ।
त्यसमा परी एकजनाको ज्यान गएको छ भने १०० जनाभन्दा बढी सर्वसाधारण घाइते भएका छन् । यो कार्य कायरतापूर्ण रुपमा गरिएको छ र यसमा संलग्नहरुलाई कसैले पनि माफी दिने छैनन्– महासचिवका तर्फबाट उहाँका प्रवक्ता स्टेफन डुजारिकद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
जुलुसमा ठूलो सहभागिता रहेकोले त्यसलाई छायाँमा पार्ने उद्देश्यले विपक्षी समूहले विष्फोट गराएको हुनसक्ने यहाँको सरकारी समाचार संस्था फाना ब्रोडकास्टिङ कर्पाेरेटले जनाएको छ ।
प्रधानमन्त्रीका रुपमा पद सम्हालेपछिको छोटो समयमा नै उहाँले सेना प्रमुख र गुप्तचर प्रमुखलाई बर्खास्त गर्नुभएको थियो । मानवअधिकार उल्लङ्घन गरेको भन्दै उहाँले इथियोपियाको सुरक्षा फौजको पनि आलोचना गर्नुभएको थियो ।
त्यसैले सुरक्षा निकायमा भएको फेरबदलबाट उत्पन्न असन्तुष्टिका कारण पनि यस्तो हमला भएको हुनसक्ने अनुमान कतिपयले गरेका छन् । तर यसको जिम्मेवारी भने कसैले लिएको छैन । (रासस/एएफपी)