काठमाडौं, ११ असार । रुसमा जारी २१ औं संस्करणको फिफा विश्वकप फुटबलमा इजिप्टविरुद्धको अन्तिम खेलमा जित निकाल्दै एसियाली मुलुक साउदी अरेबियाले सान्तावना जित हात पारेको छ।
नकआउट चरणबाट बाहिरिसकेका यी दुई राष्ट्रमध्ये समूह चरणको अन्तिम खेलमा साउदीले इजिप्टमाथि २-१ को जित निकालेको हो। पहिलो हाफ १-१ को बराबरीमा रहेको खेलमा साउदीले दोस्रो हाफको इन्जुरी समयमा गोल गर्दै पहिलो जित निकालेको हो।
इजिप्टले खेलको २२ औ मिनेटमा गोल गर्दै खेलमा अग्रता बनाएको थियो । इजिप्टकालागि मोहमद सालाहले गोल गरेका थिए। चोट मुक्त हुँदै मैदान फर्किएका सालाहले जारी विश्वकपमा गोल संख्या दुई पुर्याए।
पहिलो इन्जुरी समयको छैठौं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै साउदीले खेल बराबरीमा ल्याएको थियो। उसकालागि अल फराजले पेनाल्टीमार्फत बराबरी गोल फर्काएका हुन्।
पहिलो हाफ १-१ को बराबरीमा रहेको खेलको दोस्रो हाफको इन्जुरी समयमा सालेमले गोल गर्दै महत्वपूर्ण जित निकाले। यो सँगै रसिया यात्रा टुंग्याएको साउदीले तीन अंक निकालेर सुखद विदाई गरेको हो। एजेन्सीको सहयोगमा