Logo

धर्मभक्त अंग प्रत्यारोपण केन्द्रको चरम लापरबाही, नर्सहरुमाथि हातपातदेखि यौन हिंसासम्म(भिडियोसहित)



‘नर्सहरुलाई न्याय दिनुको सट्टा थप पिडा दिदै नेपाल नर्सिङ संघ र स्वास्थ्य मन्त्रालय’

असार १२, काठमाण्डौ । युथ नर्स संजाल नेपालले मानव अंग प्रत्यारोपण केन्द्र हाल धर्मभक्त अंग प्रत्यारोपण केन्द्रमा नर्सहरुमाथि अन्याय गरिएको अरोप लगाएको छ ।

आज रिपोर्टस क्लब नेपालमा पत्रकार सम्मेलन गरेर केन्द्रमा भएका विकृतिबारे आवाज उठाउने नर्सहरुमाथि मानसिक र शारीरिक यातना दिइएको आरोप लगाइएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै पीडित नर्स त्रजिना जतीले भक्तपुरको दूधपाटीमा रहेको धर्मभक्त अंग प्रत्यारोपण केन्द्र प्रशासनले नर्सहरुमाथि सबैखाले शोषण गरेको आरोप लगाइन् ।

१८ महिनासम्म स्वयम् सेवकको रुपमा काम गरेका नर्सहरुलाई आन्तरिक प्रतिस्पर्धाबाट जागिर दिलाइयोस भन्ने माग राख्दा प्रशासनले दमन गर्न थालेको युथ नर्स संजाल नेपालकी अध्यक्ष सजना द्यौलाले बताइन् ।

लामो समय स्वयम् सेवकको रुपमा काम लगाइएका नर्सहरुलाई जागिरको व्यवस्था गर्न आग्रह गरेका कारण सुरु भएको विवादले अहिले उग्र रुप लिएको छ ।

युथ नर्स संजाल नेपालकी अध्यक्ष सजना द्यौला

“नर्सहरुप्रति गरिएको अभद्र व्यवहार, मानसिक यातना, कार्यस्थलमा हिंसा, कुटपिट जस्ता अपराध गर्ने गराउने व्यक्ति तथा संस्था र हक अधिकारको लागि पेशागत संघ संस्थाहरुबाट गरिएको अमानवीय चरित्र दमन, शोषण आरोप प्रत्यारोपको घोर भत्र्सना गर्दछौँ ।” युथ नर्स संजाल नेपालद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

धर्मभक्त अंग प्रत्यारोपण केन्द्रमा कार्यरत नर्सहरुलाई प्रशासनले अनावश्यक दमन र शोषण गर्ने गरेको आरोप लगाइएको छ ।

आफ्ना समस्याबारे नेपाल नर्सिङ संघलाई जानकारी गराई समाधान गर्न आग्रह गर्दा पनि कुनै सुनुवाई नभएको पत्रकार सम्मेलनमा सहभागि नर्सहरुको गुनासो छ ।

संघकी अध्यक्ष तारा पोखरेलले नर्सहरुलाई नै उल्टै अनावश्यक आरोप लगाएर थप पिडा दिएको नर्सहरुले बताएका छन् ।

समस्याका बारेमा स्वास्थ्य मन्त्रालयमासमेत औपचारिक रुपमा गुनासो गरिए पनि वेवास्ता गरिएको उनीहरुको दाबी छ ।

संघ र मन्त्रालय मिलेर उल्टै दोषीलाई उन्मुक्ति दिने र नर्सहरुलाई अन्यायमा पार्ने काम भएको युथ नर्स संजाल नेपालकी अध्यक्ष सजना द्योलाको आरोप छ ।

“विगत ६ वर्षदेखि काम गर्दा अन्याय र अत्याचार देखेँ । धर्मभक्त अंग प्रत्यारोपण केन्द्रले आफ्ना कमजोरी सुधार गर्छ भन्ने अपेक्षामा ६ वर्ष वित्यो । यसअवधिमा धेरै नर्सलाई रुवाइयो । आत्महत्या गर्नेसम्मको वातावरण सृजना गरियो ।” द्योलाले भनिन् ।

“मैले गालामा झापडसमेत खानुपर्यो । मानसिक र शारीरिक रुपमा पिडा दिइयो । छानबिन गर्छु भनियो तर गरिएन ।” पीडित नर्स जतीले भनिन् ।

प्रशासनले कर्मचारीको स–साना गल्ती पनि सिसिटिभी क्यामरामा खिचेर गल्ती प्रमाणित गर्न खोज्ने तर प्रशासनका व्यक्तिले कर्मचारीलाई हात हालेको सिसिटिभी फुटेज भने लुकाउने गरेको उनले बताईन् ।

धर्मभक्त अंग प्रत्यारोपण केन्द्रले गरेको अत्याचारबारे प्रशासन र प्रहरीसमक्ष उजुरी गरे पनि कुनै सुनवाई नभएको उनले बताईन् ।

समस्या समाधान गर्नुको साँटो राजनीतिक रंग दिएर आफूहरुलाई भौतिक कारबाही गर्ने धम्की दिइएको उनको दाबी छ ।

“मलाई अहिले लागिरहेको छ, किन यो पेशा रोजेँ । तर म हारेको छैन । न्याय नपाएसम्म लडिरहन्छु । मर्न तयार भइसकेको छु ।” जतीको भनाई छ ।

उनले नर्स पेशामा हुने गरेको सबैखाले विकृति र अन्यायको अन्त्य नभएसम्म लडाई जारी राख्ने बताएकी छिन् ।

समस्या समाधान र आफूहरुका माग पूरा गराउन नेपाल नर्सिङ संघ र स्वास्थ्य मन्त्रलयबीच ११ बुँदे सम्झौता भए पनि त्यसको कार्यान्वयन नभएको अध्यक्ष द्योलाले जानकारी दिइन् ।

६ महिनाअघि ११ बुँदे सम्झौता भएको थियो । सम्झौता तुहाउने खेलमा धर्मभक्त अंग प्रत्यारोपण केन्द्र, नेपाल नर्सिङ संघ र स्वास्थ्य मन्त्रालय नै षडयन्त्रमा लागेको सदस्य ट्रजिना जतीको आरोप छ ।

युथ नर्स संजाल नेपालकी सदस्य तथा पीडित नर्स त्रजिना जती

जतील रुँदै भनिन्, “म त पीडित भएँ । अब यो पेशाको सबै विकृति अन्त्य होस भनेर लडिरहेको छु । माग पूरा नभए आमरण अनशनमा बस्छौँ ।”

समस्या बारेमा नेपाल नर्सिङ संघ पूर्ण रुपमा जानकार भए पनि माग पूरा गराउने सवालमा उल्टै नर्सहरुको विपक्षमा लागेको पीडित नर्सहरुले बताएका छन् ।

आफ्ना मागहरु पूरा नभए आमरण अनसनमा बस्ने चेतावनी दिएपछि मन्त्रालयले आज छलफलका लागि बोलाएको छ ।



प्रतिक्रिया दिनुहोस्