काठमाडौं १५ असार ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले स्थानीय तहमा पनि पार्टी संसदीय दल बनाउने भएको छ । केन्द्र र प्रदेशमा संसदीय दल बनाइसकेको नेकपाले नयाँ संविधानअनुसार प्रदेश र स्थानीय तहमा पनि सरकार गठन भएको भन्दै सबै तहमा संसदीय दल सञ्चालन गर्न लागेको हो ।
‘तीनवटै तहमा सरकार भएकाले सबैमा पार्टीको संसदीय दल गठन गर्ने गरी पार्टीको विधान बनेको छ,’ विधान निर्माणमा संलग्न नेकपाका स्थायी समिति सदस्य बेदुराम भुसालले भने, ‘स्थानीय तहमा पनि संसदीय दल बनेपछि पार्टी नीतिअनुसार अझ प्रभावकारी कार्यसम्पादन हुने विश्वास गरिएको छ ।’
स्थानीय तहमा संसदीय दल सञ्चालनका लागि नेकपाले पार्टी विधानको धारा ५५ मा महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकामा स्थानीय तह संसदीय दल गठन गर्ने व्यवस्था गरेको छ ।
को बन्छ दलको नेता ?
पार्टीका तर्फबाट निर्वाचित, मनोनीत, सम्पूर्ण पदाधिकारी तथा सदस्यहरू रहने गरी स्थानीय तह संसदीय दल गठन हुनेछ । सम्बन्धित पार्टी कमिटीको सिफारिसमा जिल्ला कमिटीले स्थानीय तहको प्रमुख वा उपप्रमुख वा उपाध्यक्ष र सो पनि नभए वरिष्ठ सदस्यलाई दलको नेता तोक्ने विधानले प्रस्ताव गरेको छ । त्यस्तै, दलको नेताले उपनेता, प्रमुख सचेतक र सचेतक तोक्ने विधानको प्रस्ताव छ ।
स्थानीय तहका जनप्रतिनिधिलाई पार्टीको लगाम
नेकपाले पार्टीका तर्फबाट स्थानीय तहमा निर्वाचित पदाधिकारी र सदस्यहरूलाई सरकारको तर्फबाट कार्यसम्पादन गर्दा पार्टीप्रति जवाफदेही बनाउने गरी विधान तयार गरेको छ । पार्टी जिल्ला कमिटीले स्थानीय तहको दलको नियमावली निर्माण गरेर अनुमोदन गरेपछि त्यस आधारमा स्थानीय तहमा जननिर्वाचित प्रतिनिधिले काम गर्नुपर्ने व्यवस्था गरिएको छ ।
स्थानीय तह दलका सदस्यहरूले पार्टी जिल्ला कमिटी र सम्बन्धित कमिटीले तोकेको जिम्मेवारी पूरा गर्नुपर्नेछ । सदस्यहरूले सम्बद्ध पार्टी कमिटीले तोकेको कार्यक्षेत्र एवं आफू निर्वाचित भएको निर्वाचित क्षेत्रमा कार्य गर्नुपर्ने बाध्यकारी व्यवस्था विधानमा प्रस्तावित छ ।
स्थानीय तहमा पनि संसदीय बोर्ड
त्यस्तै, स्थानीय तहको कामलाई प्रभावकारी बनाउन पार्टी विधानमार्फत स्थानीय तहमा पनि संसदीय बोर्ड गठन गर्ने प्रस्ताव गरेको छ । स्थानीय तहको संसदीय दलको नेता, उपनेता, प्रमुख सचेतक, सचेतक र सदस्यहरू रहनेगरी बोर्ड गठनको प्रस्ताव गरिएको हो । नयाँपत्रिकाबाट