काठमाडौं, १६ असार । उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले राष्ट्रिय पहिचानका मान्यता समावेशी लोकतन्त्र, विभेद र उत्पीडनको अन्त्य गर्नुपर्ने अहिलेको आवश्यकता रहेको बताएका छन् ।
शनिबार काठमाडौमा संघीय समाजबादी फोरम निकट संघीय पर्यटन मञ्च घोषणासभालाई सम्बोधन गर्दै यादवले बिभिन्न बिभेद र उत्पीडनलाई अन्त्य गर्दे सुन्दर नेपालको परिकल्पना अहिलेको आवश्यकता रहेको बताएका हुन् ।
फोरमका अध्यक्षसमेत रहेका यादवले अहिले पनि जातीय क्षेत्रीय बिभेद र उत्पीडन कायमै रहेकाले यसको अन्त्य गर्नुपर्ने धारणा राखे ।
मुलुक एकात्मक शासन प्रणालीबाट रुपान्तरण भईसकेको भन्दै यादवले यसको महसुस जनताले गर्नुपर्ने तर्क गरे ।
उनले भने,‘हिमाल, पहाड, तराईका जनताहरुका भेषभूषा, कला–संस्कृति, भाषा नेपालका मौलिक सुन्दरता हुन् यसलाई समान रुपमा अगाडि बढाउनुपर्छ, सबैको बाँच्न पाउने अधिकारलाई राज्यले सुनिश्चित गर्नुपर्छ ।’
विविधतामा एकताको समाज निर्माणका लागि आफ्नो पार्टीले सघर्ष गरेको समेत उनले सुनाए । मुलुकलाई समृद्धितर्फ लैजान समानता र न्यायमुलक समाज निर्माणका लागि पनि सघर्ष जारी रहेको मन्त्री यादवको भनाई छ । पर्यटन क्षेत्रलाई बिकास गर्न सके मुुलुकको समृद्धिको सपना पुरा हुने उनको तर्क थियो ।
कार्यक्रममा पार्टीका बरिष्ठ नेता अशोक राई, सह–अध्यक्ष एवम् सांसद राजेन्द्र श्रेष्ठलगायतले कार्यक्रमलाई सम्बोधन गरेका थिए ।