असार १८, काठमाण्डौ । स्पेनलाई सन् २०१० को विश्वकप फुटबलको उपाधि दिलाउन फाइनलमा निर्णायक गोल गरेका आन्द्रेस इनिस्टाले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिएका छन् । पछिल्लो एक दशक विश्वकै उत्कृष्ट मिड फिल्डर प्रमाणित इनिष्टाले जारी विश्वकपमा रसियासँग पराजित भएपछि सन्यास लिएका हुन् ।
स्पेनका आन्द्रेस इनिष्टाको खेल जीवनमा सबैभन्दा महत्वपूर्ण क्षण त्यो बेला थियो, जुन बेला सन् २०१० मा भएको विश्वकपको फाइनलमा नेदरल्याण्डविरुद्ध निर्णायक गोल गर्दाको क्षण थियो । उनै इनिस्टाले जारी विश्वकपमा प्रि क्वार्टरफाइनलमा रसियाविरुद्ध अन्तिम ५० मिनेटभन्दा बढि खेलेका थिए । तर उनले कुनै जादु देखाउन सकेनन् । कमजोर मानिएको रसियासँग पेनाल्टीमा ४–३ ले पराजित भएपछि उनी निराश थिए ।
र लगत्तै सन्यासको घोषणा गरे । त्यसो त यो विश्वकपपछि सन्यास लिने अनुमान पहिल्यै गरिएको थियो । आइतबार देशका लागि १ सय ३१ औं खेल खेल्दा ३४ वर्षीय इनिस्टाले देशका लागि अन्तिम प्रहार पेनाल्टी सुटआउटमार्तफ गरेका हुन । जसमा उनी गोल गर्न सफल भए । तर, उनको टिम स्पेन विश्वकपबाट बाहिरिन बाध्य भयो । सन् २००६ मा राष्ट्रिय टिममा डेब्यू गरेका इनिस्टा स्पेनिस टिममा प्रतिभाशाली मिडफिल्डर हुन् । मिडफिल्डमा बललाई चारै तिर घुमाउन सक्ने उनको कला संसारभरीका फुटबल पारखीले रुचाउथे ।
चाहिएको बेलमा पास दिन सक्ने तथा गोल गर्न सक्ने उनमा उद्भूत कला थियो । सन् २०१० मा नेदरल्यान्ड्स विरुद्धको फाइनलमा उनले गोल गर्दा स्पेनले पहिलोपटक विश्वकपको ट्रफी उचालेको थियो । विश्वकप बाहेक स्पेनले सन् २००८ र २०१२ को युरो कप जित्दा इनिस्टा टिमका महत्वपूर्ण सदस्य थिए । १२ वर्षको करिअरको अन्तिम खेल भने उनका लागि पीडादायी रह्यो ।
१२ वर्षको उमेरमा उनी स्पेनिस महारथी क्लब बार्सिलोनामा आवद्ध भएका थिए । सन् २००२ मा बार्सिलोनाको सिनियर टिममा डेब्यु गरेका इनिस्टाले १६ सिजन खेलेका थि ए। तर गत सिजनको अन्त्यबाट उनले बार्सिलोना पनि छाडेका थिए । त्यसपछि उनी जापानिज भिसेल कोबेमा आवद्ध भएका थिए । बार्सिलोनामा २२ वर्ष रहँदा उनले ६ सय ७४ खेल खेल्दै ३२ उपाधि जित्न सफल भए ।
क्लब छाड्दा उनले बार्सिलोनाबिरुद्ध कहिल्यै नखेल्ने बताएका थिए । त्यसैले उनले युरोपका विभिन्न क्लबको प्रस्ताव अस्विकार गर्दै जापानिज क्लब रोजे । अन्तर्रा्ष्ट्रिय खेलबाट संन्यास लिएपनि इनिस्टाको कलात्मक खेल क्लब फुटबलमा भने अझै केहि वर्ष देख्न पाइनेछ ।