Logo

पर्यटन विश्वविद्यालय सञ्चालनको तयारी



पोखरा, १८ असार : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले सरकारले पर्यटन विश्वविद्यालय सञ्चालन गर्ने तयारी गरेको बताउनुभएको छ ।

नेपाल पर्वतारोहण प्रशिक्षण प्रतिष्ठानको सहयोगमा थ्रीसिस्टर पर्यटन तालीम केन्द्रद्वारा सञ्चालित ३५ दिने ‘ट्रेकिङ गाइड’ तालीमको समापन समारोहमा उहाँले भन्नुभयो, “पर्यटन क्षेत्रमा आवश्यक दक्ष जनशक्ति उत्पादनका लागि पर्यटन विश्वविद्यालयको आवश्यकता छ ।”

मन्त्री अधिकारीले उक्त विश्वविद्यालय स्थापनाका लागि सरकारले आगामी एक महिनाभित्र संसदमा कानून पेश गर्ने गरी तयारी गरिरहेको उल्लेख गर्दै नेपाल भ्रमण वर्ष २०२० मा २० हजार पर्यटक भित्र्याउने सरकारले लिएको लक्ष सफल बनाउन सबै क्षेत्रको भूमिका महत्वपूर्ण रहको बताउनुभयो ।

नेपालमा आउने पर्यटकमध्ये लगभग ७० प्रतिशत पदयात्राका लागि आउने गरेको बताउँदै उहाँले पर्यटकसँग प्रत्यक्ष सम्पर्कमा रहने ट्रेकिङ गाइड नेपालका लागि पर्यटनदूत भएको धारणा व्यक्त गर्नुभयो ।

थ्रीसिस्टर पर्यटन तालीम केन्द्रका सञ्चालक लक्की कार्कीले संस्थाले हालसम्म मुलुकका ५५ जिल्लाका एक हजारभन्दा बढीलाई ट्रेकिङ गाइडसम्बन्धी तालीम प्रदान गरेको जानकारी दिनुभयो ।

नेपाल पर्वतारोहण प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक रोमनाथ ज्ञवालीले तालीममा ३४ जनाको सहभागिता रहेको जानकारी दिनुभयो ।



प्रतिक्रिया दिनुहोस्