काठमाडौं, १८ असार । साढे ३३ किलो सुन तस्करीको छानबिन टुंगोमा पुग्न नसकिरहेका बेला सुन तस्करहरुले भने बाटो परिवर्तन गरेका छन् ।
महानगरीय प्रहरी परिसर काठमाडौंले पछिल्लो दुई दिनमा नागढुंगाबाट ९ किलो सुनसहित ६ जनालाई नियन्त्रणमा लिएपछि तस्करहरुले बाटो परिवर्तन गरेको विश्लेषण गरिएको हो ।
गत असार १६ गते नागढुंगामा चेकजाँच गर्नेक्रममा गाडीको एअरफिल्टर मा लुकाइ भारततिर निकासी गर्ने उद्देश्यले लैजाँदै गरेको तीन किलो सुनसहित प्रहरीले चारजना भारतीय र एकजना नेपालीलाई पक्राउ गर्यो ।
त्यसको भोलिपल्टै १७ गते नागढुंगाबाटै चीनको सीमावर्ती क्षेत्र केरुङबाट काठमाडौं ल्याउँदै गरेको ६ किलो सुनसहित एकजना पक्राउ परे ।
सुन ‘तस्कर’ सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका–५, पोखडीका २३ वर्षीय तेन्जिङ तामाङले एकपटकमा ५० हजार रुपैयाँ लिने शर्तमा ६ किलो सुन ल्याएको बयान दिएको महानगरीय प्रहरी परिसरका प्रमुख विश्वराज पोखरेलले बताए ।
केरुङबाट सुन तस्करी भएर भित्रिँदैछ भन्ने सूचनाका आधारमा नागढुंगा नाकामा चेकजाँचमा कडाइ गरेको प्रहरीको भनाइ छ ।
साढे ३३ किलो सुन तस्करीको छानबिन गर्न गठित विशेष समितिले ठूला तस्करहरुलाई समात्न नसकिरहेको र हराएको सुनसमेत फेलापार्न नसकिरहेको अवस्थामा उक्त सुनको खोजी गर्ने जिम्मेवारी कसको हो ? भन्ने प्रश्न पनि उठिरहेको छ ।
तस्विर : मुकुन्द कालिकोटे