Logo

गोविन्द केसीलाई जुम्ला लगेर अनशन बस्न लगाउने अपराधी हो : बडाल



असार २०, काठमाण्डौ । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले बुधबार शिक्षा मन्त्रालयमा चिकित्सा शिक्षासम्बन्धी केही विज्ञहरुलाई बोलाएर छलफल गरेका छन् ।

हालै क्याबिनेटले पारित गरेर संसदमा प्रस्तुत गर्न लागिएको चिकित्सा शिक्षासम्बन्धी विधेयकको विरोध हुन थालेपछि मन्त्री पोखरेलले माथेमा आयोगका अध्यक्ष डा. केदारभक्त माथेमासमेतलाई मन्त्रालयमा बोलाएर विधेयकका बारेमा छलफल गरेका हुन् ।

मागेमा प्रतिवेदन विपरित सरकारले विधेयक ल्याएको भन्दै प्रा.डा. गोविन्द केसी जुम्ला पुगेर अनशन बसिरहेका छन् ।

नेपाली कांग्रेसले केसीको माग सरकारले पूरा गर्दा जनताको हित हुने जिकिर गर्दै आएको छ । कांग्रेसले सडक र सदनमा केसीको पक्षमा आवाज उठाउन सुरु गरिसकेको छ ।

यता सरकारले भने केसीले अनावश्यक रुपमा अनशन बसेर सरकारलाई दबाब दिन लागेको आरोप लगाएको छ ।

नेपाल कम्युनिष्ट पार्टीका नेता केशब बडालले डा. गोविन्द केसीलाई अरु कसैले उचालेका कारण पटक पटक अनशन बस्ने गरेको दाबी गरेका छन् ।

“जसले केसीलाई जुम्ला लगेर अनशन बस्न लगायो, त्यो अपराधी हो । केसीलाई मार्न चाहन्छन् ।” बडालले भने ।

प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्मा कुरा गर्दै नेता बडालले डा. केसीले संसदले गरेको निर्णय नमान्ने ढिपी गर्नु लोकतन्त्र विरोधी प्रवृृत्ति भएको जिकिर गरे ।

सोही कार्यक्रममा नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले गोविन्द केसीले उठाएका माग जायज भएकाले सरकारले सम्बोधन गर्नुपर्नेमा जोड दिए ।

डा. केसीको माग जनताको पक्षमा भएकाले आग्रह पूर्वाग्रह राखेर हेर्न नमिल्ने घिमिरेको तर्क छ ।



प्रतिक्रिया दिनुहोस्