काठमाडौं, २१ असार । राष्ट्रिय स्वास्थ शिक्षा, सूचना तथा सञ्चार केन्द्रका जन स्वास्थ अधिकृत उपेन्द्र ढुङ्गानाले नसर्ने रोगको भार बढ्दै गएको बताएका छन् ।
बिहीबार रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार अन्तरक्रिया कार्यक्रममा बोल्दै जनस्वास्थ्य अधिकृत ढुङ्गानाले यस्तो जानकारी दिएका हुन ।
उनले भने,‘एक तिहाई जनसंख्यामा उक्त रक्तचाप र १५ प्रतिशतमा मधुमेह, हरेक वर्ष ८ देखि १० हजार नयाँ क्यान्सर बिरामी छन्, धुम्रपान, मध्यपान, वातावरणीय पक्ष तथा खानपानजस्ता कारणले रोगको सिकार भएका छन् ।’
उनले अघि थपे,‘यसको रोकथामको लागि नसर्ने रोगको भार र न्यूनिकरणको लागि म स्वास्थ, मेरो देश स्वास्थ नाराको साथ सञ्चालन भएको ‘मेरो वर्ष अभियान’ विभिन्न कार्यहरु गर्दै आएको जानारी दिएको छ ।
त्यसैगरि नसर्ने रोगको न्यूनिकरणको लागि काठमाडौं महानगरपालिकाको भूमिकाको बारेमा बोल्दै काठमाडौं महानगरपालिका जन स्वास्थ विभाग प्रमूख हरि कुमार श्रेष्ठले स्वास्थ प्रणाली र सेवाको विकास गर्नु सरकारको दायित्व रहेको बताए ।
उनले भने ‘धुम्रपान निषेधित सहर बनाउन हामी लागि परिरहेका छौँ हाम्रो प्रयास जनतालाई सुचना प्रवाह गर्ने हो, स्वस्थ जीवनको लागि हामीले खेल्नुपर्ने भूमिका रहन्छ, त्यसैगरि स्थानीय सरकारसँग पनि सहकार्य गरेका छौँ, औषधी तथा मेडिकल अफिसरसहित समूदायिक स्वास्थ्य प्रवद्र्धन केन्द्र स्थापना गर्नेछौं।’
रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाले स्वस्थ रहन र स्वास्थ्य सम्बन्धी जानकारी दिनु सबैको कर्तव्य रहने बताए । उनले भने,‘स्वास्थ मान्छेको विचार मात्र सिर्जनशिल हुन्छ, त्यसैले सबै स्वस्थ हुनुपर्छ, हामीले यसको लागि अभियान नै चलाउनुपर्छ ।’
कार्यक्रममा काठमाडौं जिल्ला जनस्वास्थ्य प्रमुख पर्शुराम श्रेष्ठले शारिरीक निष्क्रियता, धुम्रपान तथा मध्यपान सेवन, अस्वस्थकर खाद्यका कारण मुटु, मधुमेह, क्यान्सर जस्ता रोगको सिकार बन्ने हुदाँ यसको नियन्त्रणको लागि परेको बताए ।
उनले भने,‘हामीले यसको न्यूनिकरणको लागि सूर्ती नियन्त्रण गर्ने टिम सँगठन गरेका छौँ, तनावरहित जीवनशैली, नियमित व्यायाम, नियमित स्वास्थ जाँच, पोषिलो खाना, धुम्रपान तथा मध्यपान सेवनबाट टाढै रहनेजस्ता प्रतिबद्धतालाई आत्मसाथ गर्दै जनचेतना दिलाउँछौँ ।’
नसर्ने रोगको बारेमा यस अभियानको एक वर्षे अभियान अन्तर्गत सरकारी र नीजी स्वास्थ संस्थाहरुको सहकार्यमा स्क्रिनिङ र ट्रिटमेन्टको प्याकेज उपलब्ध गराउने, विद्यालयहरुमा प्रारम्भिक परिक्षण र चेतनामूलक कार्यक्रमहरु संचालन गर्ने, आधुनिक संचार माध्यम, सामाजिक सञ्जालमार्फत जनचेतना र जानकारीमूलक सामग्री प्रवाह गर्ने, ‘मेरो वर्ष’ एप्समार्फत स्वास्थ जानकारी गराउने रहेका छन् ।