Logo

‘अवरुद्ध सदन अब सुचारु हुन्छ’ : प्रमुख सचेतक गुरुङ



“डाक्टर केसीको स्वास्थ्योपचारको लागि सरकार हमेशा तयार छ “

काठमाडौं, २३ असार । सत्तारुढ दल नेकपाका संसदीय दलका प्रमुख सचेतक देव गुरुङले चिकित्सा शिक्षा विद्येयक संसदको प्रक्रियाबाटै अघि बढाउने स्पष्ट पारेका छन् । अब बस्ने संसद बैठकमा प्रमुख प्रतिपक्षी दल कांग्रेसले कुनै अवरोध नगर्नेपनि उनको विश्वास छ ।

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘हामी कांग्रेससँग सम्वाद, सहमति र समझदारी कायम गरेर नै अघि बढ्छौं।’

अनशनरत डाक्टर गोविन्द केसीले उठाएका स्वास्थ्य चिकित्सा क्षेत्रका समस्याहरु हल गर्ने पक्षमा आफूहरु रहेको बताउँदै गुरुङले भने,‘उहाँले उठाएका माँगका आशय र अन्तर्यप्रति हामी पनि सहमत छौं, एकले अर्कोलाई निषेध गरेर वा विरोध गरेर जाने अवस्था अहिलेपनि कसैसँग छैन, समस्याको हल गर्नको लागि सम्वाद, सहमति र समझदारी कायम गर्नुपर्छ।’

कांग्रेसले संसदमा पेश गरेको सार्वजनिक महत्वको प्रस्तावमाथिपनि छलफल हुने उनले जनाए । उनले भने,‘त्यो दिन मन्त्रीज्यू विशेष कामले उपत्यकाबाहिर हुनुुहुन्थ्यो र सदनमा उपस्थित हुन सक्नुभएन, तर अब बस्ने बैठकमा छलफल अघि बढ्छ।’ अवरुद्ध सदन अब सुचारु हुनेपनि उनले जनाए ।

डाक्टर केसीको स्वास्थ्य उपचारको लागि सरकार हरहमेशा तयार रहेको बताउँदै उनले भने,‘डाक्टर केसी थोरै मात्रै पनि सकारात्मक हुँदा उहाँको स्वास्थ्य उपचार हुन्छ।’ केसीका मागहरु सम्बोधन गर्न आफूहरुले अधिकतम लचकता अपनाउने उनले विश्वास दिलाए ।



प्रतिक्रिया दिनुहोस्