काठमाडौँ, २३ असार / राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले नयाँ वाइड बडी विमान ‘अन्नपूर्ण’ बाट पुरानो गन्तव्य कतारको दोहामा सताभरी उडान भर्ने योजना बनाएको छ ।
वाइड बडी ए ३३०–२०० सिरिजको उक्त विमान यही असार १४ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको थियो ।
एयरबस निर्माता कम्पनी फ्रान्सको तुलुज शहरबाट नौ घण्टाको उडानपछि काठमाडौँ आइपुगेको सो विमान शुरुमा छोटो गन्तव्यमा उडान गरिनेछ ।
वाइड बडी विमानले पहिलो गन्तव्यको रुपमा हाल उडान गरिरहेको दोहा, भारतको बैंगलोर र थाइल्याण्डको बैंककमा उडान भर्ने तयारी गरेको निगमका प्रवक्ता रवीन्द्र श्रेष्ठले जानकारी दिनुभयो । दोहामा हप्ताभरी तथा बैंगलोर र बैंककमा हप्ताको चार दिन उडान भरिनेछ ।
प्रवक्ता श्रेष्ठका अनुसार नयाँ वाइड बडी विमानको व्यावसायिक उडानका लागि आवश्यक कागजी प्रक्रिया अन्तिमचरणमा पुगेको र एक÷दुई दिनभित्रै परीक्षण उडान ‘प्रुभिङ फ्लाईट’ गरिनेछ ।
यो उडान छोटो दूरीको हुन्छ । भारतको नयाँदिल्ली उडान गरिने प्रवक्ता श्रेष्ठको भनाई छ । नयाँ विमानको एक पटक प्रोभिङ उडानपछि मात्र व्यावसायिक उडानमा लगिन्छ । विमान उडाउनका लागि छजना स्वदेशी विमान चालक (पाइलट) तयार भइसकेका छन् ।
काठमाडौँ–जापान सिधा उडान गर्ने
निगमको नयाँ वाइड बडी विमानले काठमाडौँ–सिधा उडान भर्ने योजना बनाएको छ । शुरुमा छोटो दुरीको प्रक्रिया पूरा गरी उडान शुरु गरेपछि आगामी असोज (सेप्टम्बरभित्र) जापान र क्रमशः दक्षिण कोरिया र साउदी अरेबियाको गन्तव्यमा उडान भर्ने निगमले जनाएको छ ।
प्रवक्ता श्रेष्ठले काठमाडौँबाट जापानको टोकियो नजिकैको नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा उडान गर्ने तयारीमा रहेको जानकारी दिनुभयो । उक्त गन्तव्यमा हप्तामा तीन दिन उडान हुनेछ ।
नयाँ वाइड बडी विमानको पहिलो उडान आगामी अगष्ठ १ देखि हुने जनाइएको छ । निगमको अर्को वाइड बडी विमान एक महिनाभित्रै आउँदैछ ।
निगमले हाल अन्तर्राष्ट्रिय उडानका आठ गन्तव्य भारतको नयाँदिल्ली, बेंगलोर र मुम्बई तथा हङ्कङ, मलेसिया, थाइल्याण्ड, दोहा र दुबईमा उडान भर्दै आएको छ । एक बोइङ नाइन एसिबी–५७५ र एयरबस ३२० सिरिजको दुईवटा जहाजबाट निगमले अन्तर्राष्ट्रिय उडान गरिरहेको हो ।
निगमले आन्तरिकतर्फ नौवटा विमानबाट सेवा दिइरहेको छ । यीमध्ये चीनबाट ल्याइएका वाई १२ चार, एमए ६० दुई र तीन वटा ट्विनअटर विमान छन् । (रासस)