असार २४, काठमाण्डौ । नेपाली कांग्रेसले नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा. डा. कुलप्रसाद कोइरालालाई क्यानडा जान लाग्दा एयरपोर्टबाट फर्काइएकोप्रति राष्ट्रिय सभामा सरकारको जवाफ माग गरेको छ ।
राष्ट्रिय सभा सदःय बद्री पाण्डेले उपकुलपतिलाई विश्व संस्कृत सम्मेलनमा भाग लिन जाँदै गर्दा रोकिनु निरंकुश चरित्रको प्रदर्शन भएको बताए । उनले सन् २०२४ मा नेपालमा विश्व संस्कृत सम्मेलन आयोजना गर्ने म्याण्डेट लिने अवसर अप्ठेरोमा परेको बताए ।
‘नेपालले सन् २०२४ मा सम्मेलन आयोजना गर्ने तयारीमा जानुपर्ने महत्वपूर्ण काममा बाधा पुगेको छ’, पाण्डेले भने ।
उनले एयरपोर्टमा प्रक्रिया पुरा गर्दा ६ जनालाई बाहिर जाने अनुमति दिएको तर उपकुलपतिलाई हठात् प्रहरीले धरपकड गरेर ल्याइएको भन्दै विरोध गरे ।
‘साढे पाँच बजे उहाँलाई एयरपोर्टबाट बालुवाटार ल्याइयो र साढे ७ बजे मात्र मुक्त गरियो’, पाण्डेले भने, ‘प्रधानमन्त्रीले भेट्न खोज्नु भएको भनियो। तर समय नभएको भनेर अर्को दिन भेट्न भनियो। ८ बजे प्लेन उड्दै थियो । यो निरंकुश घटना भयो ।’
क्यानडा भ्रमणमा जान लागेका नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा. कुलप्रसाद कोइरालालाई शनिबार साँझ प्रहरीले विमानस्थलबाटै पक्रेर प्रधानमन्त्रीनिवास बालुवाटार लगिएको थियो । कोइरालाका अनुसार प्रहरीले उनलाई बालुवाटारको एउटा कोठाभित्र करिब एकघण्टा थुनेर राखेको थियो ।
प्रधानमन्त्री ओलीले भेट्न खोजेको भन्दै बालुवाटार लगिए पनि प्रधानमन्त्रीसँग भेट्न नदिई जहाज उडिसकेपछि मात्रै कोइरालालाई घर फर्काइएको थियो ।
कोइराला तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाका पालामा संस्कृत विश्वविद्यालयमा उपकुलपतिको जिम्मेवारी पाएका थिए ।