Logo

गोविन्द केसीको पक्षमा डा.केदारनरसिंह केसी र विपक्षमा डा.वंशिधर मिश्र



असार २६, काठमाण्डौ । चिकित्सा शिक्षा अध्यादेशलाई हुबहु विधेयकका रुपमा ल्याउनुपर्ने माग गर्दै डा. गोविन्द केसी जुम्लामा आमरण अनसनरत छन् ।

ठीक यहीबेला ‘माथेमा आयोग’को प्रतिवेदन विपरीत अध्यादेशका मूल विषय हटाएर सरकारले चिकित्सा शिक्षा विधेयक संसदमा दर्ता गरेपछि सहमति झनै टाढिएको छ ।

केसीको माग र सरकारको अडानका बारेमा मिश्रित टिप्पणी आइरहेका छन् । यसै सन्दर्भमा पूर्व स्वास्थ्यराज्यमन्त्री डा. वंशिधर मिश्रले काठमाण्डौ उपत्यकामा १० वर्षसम्म मेडिकल कलेज खोल्न नपाउने भन्ने अडान गोविन्द केसीको नभै मेडिकल शिक्षा क्षेत्रमा सिन्डिकेट लाद्न चाहनेहरुको भएको बताएका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै मिश्रले भने, “मेडिकल शिक्षामा सिन्डिकेट लाद्न चाहनेहरुले केसीलाई माध्यम बनाउन खोजेका हुन् । यो कुनै माग नै होइन । यस्तो माग राख्दा त लाज लाग्नुपर्ने हो ।”

सम्बन्धित समाचार :

काठमाडौंमा मेडिकल कलेज खोल्न हुँदैन भन्ने माँग औचित्यहिन र वाहियात हो : डा. मिश्र

प्रधानमन्त्री, गृहमन्त्री र शिक्षामन्त्रीको अभिव्यक्तिले मुलुकमा द्धन्द्ध निम्त्याउँछ : डा. केसी

त्यसैगरी नेपाल चिकित्सक संघका पूर्व अध्यक्ष केदारनरसिंह केसीले भने काठमाण्डौ उपत्यकामा धेरै संख्यामा मेडिकल कलेज खुलिसकेकाले अब केही वर्ष देशका विकट क्षेत्रमा मेडिकल कलेज खोल्ने अभियान आवश्यक रहेको बताए ।

सिंहदरबारको अधिकार गाउँगाउँमा पुर्याउने भनेर संघीयता लागु भइसकेको अवस्थामा चिकित्सा शिक्षालाई चाँही काठमाण्डौ केन्द्रित गर्न खोज्नु लाजमर्दो भएको सिंहले बताए ।

“काठमाण्डौ बाहिर गएर मेडिकल कलेज खोलाँै भन्ने हाम्रो मान्यता हो । अहिले गोविन्द केसीको मागभन्दा पनि केदारभक्त माथेमा आयोगले दिएको प्रतिवेदनअनुसार चिकित्सा शिक्षा विधेयक पारित गराउनुपर्छ ।” सिंहले भने ।

मिश्रले भने माथेमा अयोगको सुझाब अहिलेको समयमा सान्दर्भिक नहुने दाबी गरे ।



प्रतिक्रिया दिनुहोस्