काठमाडौं, २६ असार । १० जुलाई २०१८ मा नेपालका सम्माननीय प्रधानमन्त्री केपी ओलीले नेपालका लागि भारतका राजदूत महामहिम श्री मंजिव सिंह पुरीको उपस्थितिमा नेपाल प्रज्ञा प्रतिष्ठानको तीन तल्ले पुस्तकालय भवनको उद्घाटन गरेका छन् ।
उक्त पुस्तकालय नेरु ४३.९४ मिलियन भारतीय सहायोगमा निर्माण भएको हो । सो उद्घाटन समारोहमा सहरी विकास, संस्कृति, नागरिक तथा पर्यटन मन्त्रालय, नेपाल सरकारका प्रतिनिधिहरु, सामाजिक अगुवाहरु तथा भारत–नेपाल सम्बन्धका थुप्रै मित्रहरुको उपस्थिति थियो ।
नव निर्मित उक्त पुस्तकालय भवनले भारत र नेपालका अनुसन्धानकर्ता तथा प्राज्ञहरुलाई खोज तथा सन्दर्भ सम्बन्धि सुविधा प्रदान गर्नेछ । पुस्तक प्रकाशनका लागि पुस्तकालयमा उच्चस्तरीय अफसेट प्रेसको सुविधा पनि हुनेछ ।
नेपाल प्रज्ञा प्रतिष्ठानले उक्त पुस्तकालयलाई डिजिटल पुस्तकालयको रुपमा विकास गर्ने योजना लिएको छ । यस पुस्तकालयले भारत र नेपाल विचको मैत्री सम्बन्धलाई सुदृढ गर्ने मात्र नभई दुवै देशका कलाकार तथा प्राज्ञहरु विच दरिलो सम्बध विकास गर्न पनि मद्दत गर्नेछ ।
भारत सरकारले हालसम्म काठमाडांै जिल्लामा नेरु ४८६.५ मिलियन बराबरका आयोजनाहरु सम्पन्न गरिसकेको छ ।
यस्ता आयोजनाहरु अन्तर्गत विद्यालय, पुस्तकालय, अस्पताल तथा अन्य स्वास्थ्य सुविधाहरु, आर्ट ग्यालरी, खाद्य ल्याब र महिला तथा छात्राहरुका लागि छात्रावास भवन र सामुदायिक केन्द्रहरु पर्दछन् ।
हाल यहाँ भारतीय सहयोगमा नेरु ४०७ मिलियन बराबरका बाह्रवटा आयोजनाहरु विभिन्न चरणहरुमा निर्माणरत छन् । यसका अतिरिक्त भारत सरकारले काठमाडांै जिल्लाका विभिन्न संस्थाहरुलाई ४७ वटा एम्बुलेन्स, ३ वटा विशेष मेडिकल भ्यान र ४१ वटा बसहरु योगदान गरिसकेको छ ।
१९५७ मा स्थापित नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल सरकारको स्वामित्व भएको संस्था हो जुन भारत साहित्य एकेडेमीको समकक्षी रहेको छ । नेपाल प्रज्ञा प्रतिष्ठान राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गतिविधिहरुलाई समन्वय गर्दै भाषा, साहित्य, संस्कृति, दर्शन, खोज र सांस्कृतिक एवं बौद्धिक क्षेत्रको समग्र विकासका लागि समर्पित प्रमुख राष्ट्रिय संस्था हो ।
तस्विर : मुकुन्द कालिकोटे