असार २७, काठमाण्डौ । राष्ट्रिय जनता पार्टीका नेता राजकिशोर यादवले संसदीय दलको नेता चयनका विषयमा विवाद नभएको दाबी गरेका छन् ।
शनिवार विधि र प्रक्रियाअनुसार दलको नेता चयन गरिने बताउँदै यादवले सहमतिकै आधारमा शीर्षस्थ नेता भएकाले महन्थ ठाकुर नै दलको नेता बन्न सक्ने बताए ।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै यादवले पार्टीको अध्यक्ष मण्डलका संयोजक भएकाले ठाकुरको विषयमा विवाद नहुने दाबी गरे ।
संसदीय दलको नेता बन्नका लागि राजेन्द्र महतोले ईच्छा देखाउनु स्वभाविक भए पनि ठाकुरको विषयम सहमति हुने उनले बताए । “संसदीय दलको नेता चयन गर्ने विषयमा विवाद गर्ने छुट कसैलाई छैन । जसले विवाद गर्छ, त्यो नेता राजपाको उद्देश्यविपरित छ भन्ने ठहरिन्छ ।”
कोही व्यक्ति व्यक्तिगत स्वार्थमा केन्द्रित हुन्छ भने त्यो राजपाको नेता बन्न नसक्ने यादवले बताए ।