Logo

प्रधानमन्त्री ओली निरङ्कुश बनेर नाङ्गै हिँड्छन भने पाँच वर्ष काम गर्न पाउँदैनन् : केसी



असार २९, काठमाण्डौ । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बनिसक्दा पनि वेवास्ता गरेको आरोप लगाएका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै केसीले सरकार निरंकुशता देखाएर चुपचाप बसेको आरोप लगाएका हुन् ।

“सरकार क्रुर भएर प्रस्तुत भएको छ । मानवता, अहिंसा र सत्यको भाषा सुनेको छैन । सरकार अंहकार र दम्भबाट पीडित भएको छ ।” केसीले भने ।

अदालतले दोषी ठहर गरेकालाई काखी च्याप्ने र जनताको आवाज उठाउनेलाई वेवास्ता गर्ने प्रवृत्ति सरकारले देखाएको भन्दै केसीले यस्ता प्रवृत्तिविरुद्ध कांग्रेस शसक्त रुपमा प्रस्तुत हुने बताए ।

केसीका मागसम्बन्धमा विगतमा सहमति भइसकेकाले अहिलेको सरकारले कार्यान्वयन गर्नुपर्ने केसीले बताए ।

“केपी ओली नै पहिलो पटक प्रधानमन्त्री हुँदा गोविन्द केसीसँग सम्झौता भएको थियो । म त्यसको साक्षी थिएँ । ति सम्झौताहरु अक्षरस पालना हुनुपर्छ ।” केसीले भने ।

“नैतिकता भन्ने चिज पनि राजनीतिमा हुन्छ । आफैँ सरकारमा हुँदा गरेका सम्झौता कार्यान्वयन नगर्ने ? एकम् लज्जाम परित्यजम, सर्वत्र विजयी भवेतं ! भनेर दुई तिहाईको नाममा नाङ्गै हिँड्नुहुन्छ भने त्यो जनताले फैसला गर्छ ।”

सरकारको दम्भ र हाकिमी शैलीको विरुद्धमा कांग्रेस एक भएर लड्ने केसीले बताए । विश्वविद्यालयको उपकुलपति र अस्पतालका डाक्टरलाई बन्दी बनाएर देश विकास नहुने केसीको तर्क छ ।

सरकारको प्रवृत्तिमा सुधार नभए पाँच वर्ष नटिक्ने केसीको दाबी छ । “यही ढंग रहिरह्यो भने सरकार पाँच वर्ष काम गर्न पाउँदैन । निरङ्कुशता बढ्दै गयो भने जनताले नै सरकार ढाल्छन् ।” केसीले बताए ।



प्रतिक्रिया दिनुहोस्