Logo

अध्यादेश हुबहु आए हाम्रो समर्थन हुन्छ नत्र विरोध गर्छौं : विश्वकर्मा



काठमाडौं, २९ असार । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मीन विश्वकर्माले अनशनरत डाक्टर केसीसँग सरकारले सबैभन्दा पहिले वार्ता सुरु गर्नुपर्ने बताए ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘सरकारले अहिले हठ देखायो, अहिले सरकारसँग दुई तिहाई बहुमत छ, तर पञ्चायत र राजा ज्ञानेन्द्रसँग त शतप्रतिशत थियो, त्यसैले कसैले हठ नपाल्दा राम्रो हुन्छ।’

सरकारले अध्यादेश जस्ताको तेस्तै ल्यायो भने आफूहरुको समर्थन रहने तर तोडमोड गरेर ल्यायो भने समर्थन नरहने नेता विश्वकर्माले स्पष्ट पारे । उनले डाक्टर केसीको सत्याग्रहमा कांग्रेसको नैतिक समर्थन रहेको पनि सुनाए ।

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले भने,‘सरकारले जस्ताको तेस्तै पूरानो विद्येयक ल्यायो भने हाम्रो पार्टीले समर्थन गर्छ, यदि तोडमोड गरेर ल्याए संसदमा हाम्रो जे भूमिका हुन्छ त्यो निर्वाह गर्छौं।’

लोकतन्त्रमा सत्याग्रह शक्तिशाली आवाज भएको उनको भनाई छ । उनले भने,‘डाक्टर केसीसँग सरकारले १४ पटकसम्म सम्झौता गर्यो, गरेका सम्झौता किन कार्यान्वयन गरेन, तत्कालिन् प्रधानमन्त्री शेरबहादुर देउवा र वर्तमान शिक्षामन्त्री गिरिराजमणि पोखरेल त्यतिवेला स्वास्थयमन्त्री हुनुहुन्थ्यो, त्यतिवेला अध्यादेश ल्याउने सहमति भएको थियो, यो सरकारले अध्यादेश मान्यो, तर विद्येयक ल्याउँदा तोडमोड गर्यो, त्यसैले प्रतिस्थापन विद्येयकको हामीले विरोध गर्यौं।’



प्रतिक्रिया दिनुहोस्