Logo

मनमोहन मेडिकल कलेजलाई अन्याय भएको भन्दै सहयोग गर्न व्यवस्थापन समितिको सरकारसमक्ष माग



‘मेडिकल काउन्सिलले मापदण्ड पूरा नभएको प्रमाणित गरे कलेज चलाउँदैनौं’
काठमाडौं, १ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवम् मनमोहन मेमोरियल मेडिकल कलेज सञ्चालक समितिका उपाध्यक्ष तथा पूर्वमन्त्री डा. बंशिधर मिश्रले चिकित्सा शिक्षा विद्येयकको बारेमा सर्वसाधारण जनताले थाहा पाउनेगरि छलफलको विषय बनाईनुपर्ने बताएका छन् ।

रिपोर्टर्स क्लब नेपालमा मंगलबार अपरान्ह प्रस्तावित मनमोहन मेडिकल कलेज व्यवस्थापन समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता मिश्रले यस्तो बताएका हुन।

उनले भने,‘विगत १८ दिनदेखि जुम्लामा अनशन बस्नुभएको डा.केसीले भनेका सबै कुराहरु राम्रा नभएपनि धेरै कुराहरु राम्रा छन्, उहाँको उपचार जुम्लामा हुँदैन, काठमाडौंमा ल्याउनुपर्छ, त्यसपछि सर्वमान्य संसद र जनताले बुझ्नेगरि यस विषयलाई सदाको लागि समाधान हुनेगरि ब्यापक छलफल गरिनुपर्छ, म पनि एक चिकित्सक हुँ, उहाँपनि चिकित्सक हो, हामीलाई पनि स्वास्थ्य क्षेत्रलाई कसरी गुणस्तर बनाउन सकिन्छ भन्ने चिन्ता छ ।’

मनमोहनको नाममा आफूहरुले केही सिमित व्यक्तिहरुको लगानीमा अस्पताल नखोलेको उनको स्पष्टोक्ति थियो । ‘२६ सय जनाको थारै–थोरै लगानीमा हामीले प्रक्रिया पूरा गरेर निमार्ण गरेका छौं’ मिश्रले थपे,‘त्यसैलाई नै तारो बनाएर गोविन्द केसीले हिड्नु हुँदैन, पवित्रता प्रतिकको रुपमा चिनिएका मनमोहनको नाममा हामीले त्यस्तो लुट्ने वा कमाउने धन्दा चलाउने कुरै हुँदैन, अरुभन्दा धेरै छात्रावृत्ति दिने, अरुभन्दा राम्रो स्वास्थ्य सेवा सुविधा दिने भनेका छौं, केसीले चिन्ता गर्नु स्वभाविक छ, तर माफियाको उपमा दिनु गलत हो ।’

डाक्टर केसीको समर्थनमा आन्दोलनमा उत्रेका चिकित्सकहरुलाई सर्वसाधारण जनताको स्वास्थ्य जीवनमा ध्यान दिन पनि उनले आग्रह गरे । नेता मिश्रले भने,‘एउटा मानिसको समर्थनमा अन्य नागरिकको जीवनमा खेलवाड नगर्नुहोस्, डाक्टर केसीका मागहरुको बारेमा सरकार छ, संसद छ, बरु यस विषयका बारेमा गम्भिर छलफल गरौं ।’

नेपाललाई मेडिकल हब बनाउनुपर्ने तर्क गर्दै मिश्रले गुणस्तरीय स्वास्थ्यलाई ध्यानमा राखेर भौतिक, आर्थिक, जनसंख्या सबै पूर्वाधारहरु हेरेर शिक्षण अस्पतालहरु खोल्नु पर्नेमा जोड दिएका छन् ।

उनले भने,‘एउटा शक्तिशाली आयोग बनाएर त्यस आयोगले दिएका सुझावका आधारमा मुलकका विभिन्न भागमा सुविधासम्पन्न अस्पतालहरु खोल्नुपर्छ भन्नेमा हामी छौं।’

कार्यक्रममा प्रस्तावित मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड टिचिङ्ग हस्पिटलव्यवस्थापन समिती सचिव डाक्टर रामकुमार अधिकारीले प्रेस विज्ञप्ती वाचन गरेर सुनाएका थिए ।

प्रेस— विज्ञप्ती
आदरणीय विद्धान पत्रकार मित्रहरु,

यस प्रस्तावित मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड टिचिङ्ग हस्पिटलवारे डा. के.सी. को आन्दोलनको कारणले विभिन्न संचार माध्यमहरु एवं सामाजिक संजालहरुमा विभिन्न भ्रमपूर्ण सूचनाहरु प्रेसित भई आम सर्वसाधारणमा अनेकौं भ्रम उत्पन्न भएकोले यस वारे स्पष्ट पार्न निम्न तथ्यहरु प्रस्तुतिका साथ निष्पक्ष छानविनका लागि अनुरोध छ ।

१. यस प्रस्तावित मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड टिचिङ्ग हस्पिटल कुनै निजी कम्पनीले स्थापन गर्न खोजेको होईन, यो संस्था देशभरका सवै पक्षका विभिन्न तह र तप्काका करिव २६०० सदस्यहरुले रु एक÷एक लाख जम्मा गरि सहकारीको माध्यमवाट पूर्व प्रधानमन्त्री स्व.मनमोहन अधिकारीज्यूको योगदानलाई चिरस्थाई गर्ने उदेश्यले स्थापना गर्न खोजिएको सेवा मुलक संस्था हो ।

२. यो संस्था नेपाल कम्यूनिष्ट पार्टिले खोल्न खोजिएको संस्था होईन। कुनै पनि देशमा ऐतिहासिक व्यक्तिहरुको नाममा सरकारले नै शहरको नाम, विमानस्थलको नाम, स्कुल क्याम्पस, खेलकुद मैदानको नाम, आदि राखेर सम्मान गर्ने चलन छ र नेपालमा विशेश्वर प्रसाद कोइरालाको नाममा केहि संस्था सरकारले स्थापना गरेको छ, तर पुस्पलाल श्रेष्ठ, सुबर्ण समशेर ज.व.रा, गणेशमान सिंह, मदन भण्डारी, मनमोहन अधिकारी, कृष्ण प्रसाद भट्टराई, गिरिजा प्रसाद कोइराला, गजेन्द्र नारायण सिंह, महेन्द्र नारायण निधि लगाएत अन्य आदरणीय नेताहरुको नाममा सरकारले खासै केहि गरेको छैन।

३.यस प्रस्तावित मेडिकल कलेजको सम्वन्धन सम्वन्धमा नेपाल सरकार शिक्षा मन्त्रालयवाट २०६४ सालमा मेडिकल कलेज संचालन गर्ने मनशाय पत्र लिई वंैक सँग ऋण लिई करिव ३०० करोड लागतमा नेपाल मेडिकल काउन्सील र त्रिभुवन विश्वविद्यालयको सम्पूर्ण मापदण्ड २०७० सालमा नै पूरा गरि विगत पाँच वर्षदेखि अस्पताल संचालन भईरहेको छ । शिक्षा मन्त्रालयले नेपालको कानुन सम्वत मनशाय पत्र दिएकोले शिक्षा मन्त्रालयले नै यसको व्यवस्थापन गर्नै पर्छ तसर्थ हाम्रो सरोकार डा. गोविन्द केसी सँग नभई शिक्षा मन्त्रालय सँग मात्र छ ।

४. शिक्षा मन्त्रालयले २०७० सालमा नै विश्वविद्यालयमार्फत सम्वन्धन दिनु पर्नेमा डा. गोविन्द केसीको आन्दोलनको कारणले यस संस्थाले सम्वन्धन नपाएकोले यस संस्थालाई ठुलो अन्याय भएको तथ्य सर्वविदितै छ । यस पाँच वर्षमा यस संस्थाले वैंक व्याजमात्र करिव १ अर्व भुक्तानी गरेको छ । यसको जिम्मा नेपाल सरकार शिक्षा मन्त्रालयले लिनुपर्छ ।

५. यो मेडिकल कलेज काठमाडौं वाहिर खोल्नु पर्छ भन्ने सन्र्दभमा २०६४ सालमा मनशाय पत्र प्रदान गर्दा नै, लगानी गर्नु अगावै नेपाल सरकारले भन्नु पर्दथ्यो । काठमाडौंमा सवै पूर्वाधार निर्माण सम्पन्न पश्चात काठमाडौं वाहिर जानु पर्छ भन्नु भनेको गर्भ रहनु भन्दा अगाडी केहि नभन्ने तर गर्भ रहेर ९ महिना पछि वच्चा पाउने वेलामा वाहिर जनसंख्या धेरै भएको कारण दर्शाई पाठेघरमा नै वच्चा मार्नुपर्छ भन्नु सरह हो ।

६. यो संस्थाले काठमाडौं वाहिर दुर्गम स्थानमा मेडिकल कलेज खोल्न हुन्न भनि कहिल्यै भनेको छैन र दुर्गम स्थानमा मेडिकल कलेजहरु खोल्नु पर्दछ भनी यो संस्था जोडदार माग गर्दछ ।

७. यो संस्थामा पुर्वाधार पुरा नभएको र राज्य शक्तिको दुरुपयोग गरि सम्वन्धन लिन खोजेको छ भन्ने हल्ला चलाई यस संस्थालाई वदनाम गर्न खोजिएको छ । स्वतन्त्र चिकित्सकहरु, कानुनविदहरु, नागरिक समाज र अन्य सरोकारवालाहरुको एक पुर्वाधार निरिक्षण टोलि वनाई निष्पक्ष रुपमा यस मेडिकल कलेजको निरिक्षण गरियोस र सो क्रममा नेपाल मेडिकल काउन्सीलको मापदण्ड निर्देशिका अनुसार यो मेडिकल कलेज नभएमा सम्वन्धन दिए पनि यस मेडिकल कलेज संचालन नगर्ने जानकारी गराउँदछौ ।

८. संसारका देशहरुमा आज कसरी विदेशी विद्यार्थी भित्र्याउने, कसरी विदेशी पैशा भित्र्याउने होड चलेको छ । देशको सफलता नै यसमा रहेको मानिन्छ । नेपालबाट प्रतिबर्ष ३० देखी ४० हजार विद्यार्थी बिभिन्न विषयमा अध्ययन गर्न बिदेश गैरहेका छन भने मेडिकल विषय पढ्नको लागि हजारौं विद्यार्थी देश वाहिर गई अरवौं रुपैयाँ विदेश गइरहेको छ । तर विदेशवाट नेपालमा पढन आउने विद्यार्थी संख्या झन्डै छैन भन्दा हुन्छ । यो अवस्थामा सर्वाेच्च अदालत एवं अख्तीयारले पनि मेडिकल कलेज खोल्न रोक्नु गैरकानूनी भनेको छ ।

तसर्थ देशभरका स्वास्थ्यकर्मीहरु, देश विदेशमा रहेका सम्पूर्ण न्याय प्रेमी, अराजकता विरोधी महानुभावहरु, सम्पूर्ण विद्यार्थी संगठनहरु, सम्पूर्ण प्राध्यापकहरु, सम्पूर्ण कर्मचारीहरु, सम्पूर्ण मिडियाकर्मीहरु, नागरिक समाजले यस संस्थालाई पर्न गएको घोर अन्यायलाई वुझि नेपाल सरकार शिक्षा मन्त्रालयलाई यस संस्थाको व्यवस्थापन गर्न सहयोग गर्न यो संस्था हार्दिक अनुरोध गर्दछ ।

प्रस्तावित मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड टिचिङ्ग हस्पिटल
व्यवस्थापन समिती



प्रतिक्रिया दिनुहोस्