काठमाडौं । विगत २० दिनदेखि जुम्लामा आमरण अनसनरत डा.गोविन्द केसी अन्ततः काठमाडौं आउन सहमत भएका छन् । प्रहरीले आफ्ना समर्थकमाथि बलप्रयोग गरेपछि डा.केसी काठमाडौं आउन तयार भएका हुन् ।
सरकारले डाक्टरहरुको टोलीसहित नेपाली सेनाको हेलिकोप्टर जुम्ला पठाएको थियो । तर, डा.केसीका समर्थकहरुले काठमाडौंबाट गएको टोली र प्रहरीलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेका डा.केसीसम्म पुग्न अवरोध सिर्जना गरेका थिए ।
प्रहरी प्रशासनले डा.केसीका समर्थकमाथि लाठीचार्ज गर्नुका साथै अश्रुग्यास प्रहार गरेको छ । लाठी चार्जबाट थुप्रै विद्यार्थी तथा स्थानीय घाइते भएको जिल्ला प्रहरी कार्यलय जुम्लाले जानकारी दिएको छ ।