Logo

केसीको स्वास्थ्य ठीक भएपछि वार्ता



काठमाडौं ५ साउन ।  सरकारले सीधै अनशनरत डा. गोविन्द केसीसँगै वार्ता गर्ने भएको छ । यसअघि केसीका प्रतिनिधिसँग वार्ता गरेको सरकार अब प्रत्यक्ष केसीसँगै वार्ता गर्ने निष्कर्षमा पुगेको हो । बीचका व्यक्ति वार्तामा बस्दा समस्या समाधानतर्फभन्दा राजनीतिमा बढी केन्द्रित भएको ठहर सरकारको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले सरकारले सीधै केसीसँगै वार्ता गर्न वातावरण बनाइरहेको बताए । केसीसँग वार्ता गर्दा सरकारको वर्तमान वार्ताटोली पनि हुनेछैन । केसीले मन्त्रीस्तरीय टोलीसँग मात्रै वार्ता गर्ने बताइसकेकाले सरकार यही तयारीमा लागेको हो । शिक्षामन्त्री गिरिराजमणि पोखरेल र नेकपाका नेता नारायणकाजी श्रेष्ठ अनौपचारिक तयारीमा लागिसकेको अर्यालले जानकारी दिए ।

यसअघि गत सोमबार र मंगलबार सरकार र केसी पक्षका वार्ताटोलीबीच तीन चरण वार्ता भए पनि कुनै सहमति हुन सकेन । सरकारले शिक्षासचिव खगराज बरालको संयोजकत्वमा तीन सदस्यीय वार्ताटोली बनाएको थियो । नयाँपत्रिकाबाट

केसीको स्वास्थ्य ठीक भएपछि वार्ता
सरकारले केसीको स्वास्थ्य अवस्था सहज भएपछि वार्ता गर्ने जनाएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार अर्यालका अनुसार सरकारको पहिलो प्रयास केसीको जीवन बचाउनु हो । ‘स्वास्थ्य ठीक भएपछि केसीसँग सरकारले वार्ता थाल्नेछ,’ उनले भने ।

जुम्लामा अनशन बसेका केसीको स्वास्थ्य जटिल भएपछि २०औँ दिनमा बिहीबार सरकारले बल प्रयोग गरी काठमाडौं ल्याएको थियो ।

बीचका व्यक्तिमा अविश्वास
केसीको नाममा वार्तामा बस्न आउनेहरूलाई विश्वास गर्ने आधार नदेखिएको सरकारको ठम्याइ छ । अर्यालले भने, ‘केसीका मान्छे कोही देखिएनन् । त्यसैले उनको नाम लिएर उफ्रिनेहरूमा विश्वास गर्ने आधार भएन । सरकारले केसी केही ठीक भएपछि उनीसँगै वार्तामा बसेर निकास निकाल्छ ।’

वार्ता अनिश्चित
केसीका सहयोगी डा. जीवन क्षेत्रीले सरकार र केसीबीचको वार्ता थप अन्योलमा परेको बताए । दुई दिनदेखि वार्ताको विषयमा कुरासमेत नउठेको उनले बताए । उनले भने, ‘अहिले वार्ताको विषयमा कुरै नगरम् । हामीले गरेर मात्रै हुन्न, डा. केसीले पनि यसलाई स्वीकार गर्नुपर्छ ।’

वार्ता समिति गठन भएको दुई दिनपछि डा. केसीले सचिवस्तरीय टोलीसँग वार्ता नगर्ने अडान लिएपछि अन्योलमा परेको हो । सरकारले पनि केसीको जीवनरक्षा पहिलो प्राथमिकता भन्दै वार्ताभन्दा पहिला उपचारमा जोड दिएको छ । तर, केसीले भने बिहीबारदेखि नै स्वास्थ्य जाँच गराउन मानेका छैनन् । उनले स्वास्थ्य जाँच नगर्ने र औषधि पनि नलिने बताएपछि चिकित्सकहरूले जाँच गरेका छैनन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot