काठमाडौं ९ साउन । बंगलादेशमा चिकित्सा शिक्षा अध्ययनरत र अध्ययन गरेर फर्किएका विषयप्रति एक कार्यक्रममा आफूले बोलेको कुरालाई विवादमा तानिएको मन्त्री तामाङले बताए । उनले भने,‘विशेषगरी महिलाको विषयमा विवादमा तानिने काम भएको छ । म आफै महिलाप्रति अति संवेदनशिल व्यक्ति हुँ । महिला मलाई जन्माउने आमा हुन् । मेरो जिवन धान्ने जीवनसाथी हुन् र हामीले जन्माएका छोरीहरू हुन् । म सचेत छु, छोरी मेरो जीवनको गर्व हो,छोरी मेरो सन्तान हो र भविष्य हो ।’
बंगलादेशमा चिकित्सा शिक्षा पढ्ने केहि छात्राहरू हिंसामा परेको सुनेपछि स्तव्ध भएर त्यस्तो भनेको उनले बताए । उनले भने,‘हिंसा भएको छैन भनेर हामी कसरी समाधान गर्न सक्छौँ ? मैले भनेको विषयलाई टाउको र खुट्टा काटेर बिचको भागमात्र पोष्ट गरेर अझ बढाईचढाई र अतिरन्जित गरेर मेरो बारेमा समाचार आउदा अति दुखित छु ।’ उनले आफ्ना पार्टीका केहि साथीको नामबाट उहाँहरूको अनुमति विना राजिनामा माग भएको समाचार गलत ढंगले आएको बताए । बर्तमान सरकारकै असफलतासँग जोडेर नारा लगाउने काम भइरहेको भन्दै उनले प्रधानमन्त्री र सरकारलाई सफल बनाउदै निहित स्वार्थ बोकेकालाई परस्त गर्न पदबाट राजिनामा दिन पुगेको बताए ।
राजीनामा दिनेक्रममा उनले भ्रष्ट्राचारविरुद्ध तथा महिला अधिकारका लागि आफु र धर्मपत्नी उषाकला राई निरन्तर लड्दै आएपनि हाल त्यहि विषयले लखेटेको बताए । पटक पटक भावुक हुँदै आँशु झारेका तामाङले भने,‘जुन विषय बोकेर काम गरिएको हुन्छ, त्यहि विषयले लखेट्ने दिन पनि आउदो रहेछ, डा. उपेन्द्र देवकोटाले जीवनभर धेरैको उपचार गर्नुभयो तर उहाँ क्यान्सर रोगबाट वित्नुभयो । यो अवस्था त्यस्तै लागिरहेको छ ।’
दातृ निकायबाट आउने रकमलाई एकद्धार नीतिबाट खर्च गर्नुपर्ने,न्यायालयलाई स्वच्छ र पारदर्शी बनाउने,न्यायाधिसको सम्पति विवरण सार्वजनिक गर्ने,भ्रष्ट्राचार उन्मुलन गर्ने विषयमा आफूले सक्दो पहल गरेको मन्त्री तामाङले बताए ।
सुरुवातमा हाँस्दै पत्रकार सम्मेलनमा प्रवेश गरेका तामाङको कुरा राख्ने प्रारम्भिक चरणमै गला अवरुद्ध भयो । उनले श्रीमती उषाकलातर्फ पुलुक्क हेरे र उषाकलाले बोल्न संकेत गरिन् । झण्डै २३ मिनेट बोलेका तामाङले सुरुवातमा आफुले मन्त्रालय सम्हालिसकेपछि गरेको कामबारे जानकारी गराए ।
उनले मौलिक हक कार्यान्वयन गर्न आगामी असोज ३ गतेसम्म सम्पूर्ण कानुन बनाउनुपर्ने संवैधानिक व्यवस्थाअनुसार आफूले काम गरेको बताए । उनले भने,‘हामीले निरन्तर प्रयत्न ग¥यौँ । मौलिक हकका कतिपय कानुन बनिसकेको र कतिपय कानुन लागु हुने अवस्थामा छन् । त्यसबाहेक मौलिक हकसँग सम्बन्धित १५ वटा कानुन बनेर अगाडि बढिसकेको छ ।’ मौलिक हक कार्यान्वयनसम्बन्धी बनेका १५ कानुन संसदमा जानेक्रममा रहेको समेत उनले बताए । नयाँपत्रिकाबाट