Logo

सरकारी वार्ता टोली रित्तो हात वार्तामा आएको केसी पक्षको आरोप(भिडियोसहित)



साउन ९, काठमाण्डौ । सरकार र डा. गोविन्द केसीको वार्ता असफल भएको छ । सरकार जिम्मेवार ढंगले प्रस्तुत नहुँदा वार्ता असफल भएको भन्दै डा. केसीको वार्ता टोलीले आफूहरुको २२ बुँदे सूचीका आधारमा चिकित्सा शिक्षा विधेयक पास गर्ने प्रतिवद्धता आएपछि मात्र वार्तामा बस्ने बताएको छ ।

सरकारले भने राजनीति भएका कारण डा. केसीसँगको वार्ता असफल भएको जनाएको छ । सरकार र डा. केसीको वार्ता टोलीबीच सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा वार्ता भएको थियो ।

सम्बन्धित समाचार :

डा. गोविन्द केसी र सरकार पक्षबीचको वार्ता असफल हुनुको कारण यस्तो छ

सरकार र डाक्टर केसीबीचको वार्ता भाँडियो, अब के हुन्छ ? 

डा. गोविन्द केसी पक्षका संयोजनक डा. सुरेन्द्र भण्डारीले सरकारी वार्ता टोली रित्तो हात वार्तामा बस्न आएको आरोप लगाएका छन् ।

वार्ता असफल भएलगत्तै संचारकर्मीहरुसँग कुरा गर्दै भण्डारीले सरकारले डा. गोविन्द केसीको ज्यान बचाउनुपर्छ भन्ने सैद्धान्तिक कुरा मात्रै गरेको बताए ।

“उहाँहरु रित्तो हात वार्तामा बस्नुभयो । हामीले दिएको २२ वटा बुँदाका बारेमा मुख नै खोल्नुभएन । २२ बुँदा किन स्विकार गर्नुभएन भन्दो त्यसको पनि जवाफ दिनुभएन ।” भण्डारीले भने ।

२२ बुँदे सुझाबका बारेमा प्रधानमन्त्रीसँग सोधेर आउँछौँ भने पनि कुनै ठोस कुरा गर्ने हैसियत बिना नै सरकारी पक्ष वार्तामा बसेको भण्डारीले बताए ।

सरकारी वार्ता टोली पूर्ण रुपमा असंवेदनशील देखिएको उनको आरोप छ । सरकारले पनि दुई तिहाई बहुमतको दम्भ देखाएको भण्डारीले जिकिर गरे ।

“यो सरकारलाई अहिले हामी के भन्छौँ भने, ज्यादै असंवेदनशील छ । नियमभित्र नबस्ने, हैकमवादी चरित्रको, दुई तिहाई बहुमतका आडमा दबाउनसम्म दबाउने, बहुमतको दम्भ देखाउने र नागरिकका जायज मागप्रति अत्यन्तै अमर्यादित रुपले पेश हुने चरित्र देखियो । जसका कारण वार्ता असफल भयो ।” भण्डारीले भने ।



प्रतिक्रिया दिनुहोस्