Logo

सरकारले विधेयक फिर्ता लिनु पर्दैन, संशोधन गर्न तयार भए हुन्छ : जीवन क्षेत्री



साउन १०, काठमाण्डौ । डा. गोविन्द केसी पक्षबाट वार्तामा सहभागि डा.जीवन क्षेत्रीले चिकित्सा शिक्षा विधेयकका बारेमा सरकारी वार्ता टोलीले छलफल नै गर्न नचाहेका कारण वार्ता असफल भएको आरोप लगाएका छन् ।

सम्बन्धित समाचार :

डा. गोविन्द केसी र सरकार पक्षबीचको वार्ता असफल हुनुको कारण यस्तो छ

सरकार र डाक्टर केसीबीचको वार्ता भाँडियो, अब के हुन्छ ? 

सरकारी वार्ता टोली रित्तो हात वार्तामा आएको केसी पक्षको आरोप(भिडियोसहित)

सरकारी वार्ता टोलीले भन्यो “सरकारले दिएको म्यान्डेट प्रयोग गर्ने हो, निर्णय गर्ने अधिकार छैन”(भिडियोसहित)

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै क्षेत्रीले मुख्य विवाद भएका विषयमा सरकारले छलफल नै गर्न नचाहेको जिकिर गरेका हुन् ।

काठमाण्डौ उपत्यकामा १० वर्षसम्म नयाँ मेडिकल कलेज खोल्न नपाउने र एउटा विश्वविद्यालयले ५ वटा कलेजलाई मात्र सम्बन्धन दिन पाउने भन्ने विषयमा सरकारी वार्ता टोली प्रवेश नै गर्न नचाहेको उनले बताए ।

सरकारले चाह्यो भने संसदमा रहेको विधेयक फिर्ता लिन कुनै समस्या नभएको तर विभिन्न बहानामा उम्किन खोजेको क्षेत्रीको तर्क छ । आफूहरुले यदी विधेयक फिर्ता लिन नचाहेको हो भने संसदमा नै संशोधन गरौँ भन्दासमेत सरकार नमानेको उनले आरोप लगाए ।

“संसदमा भएको विधेयकमा संशोधन हाल्न नसक्ने भन्ने पनि हुन्छ ? डा. केसीमा माग पूरा हुने गरी संशोधन हाले त भइहाल्छ नि ।” क्षेत्रीले भने ।

सरकारले नै हलो हड्काएको आरोप लगाउँदै क्षेत्रीले निष्कर्षमा कसरी पुग्ने भन्ने उपाय सरकारले नै खोज्नुपर्ने बताए ।

“सरकारको अहिलेको रवैयाले चिकित्सा शिक्षा क्षेत्रमा अहिलेसम्म भएको उपलब्धिसमेत खेर जाने अवस्था छ ।” उनले भने ।



प्रतिक्रिया दिनुहोस्