Logo

केपी ओलीलाई मिनेन्द्र रिजालको प्रश्न,-सबै लाज त्यागेपछि के बाँकी रह्यो र ?



डा. मिनेन्द्र रिजाल-केपी ओलीलाई मेरो प्रश्न छ, सबै लाज त्यागेपछि के बाँकी रह्यो र ? उहाँहरुले गोविन्द केसीसँग जुन व्यवहार गर्नुभयो, त्यसका बारेका आम नागरिकहरुले मूल्याङ्कन गरेका छन् । एउटा सत्याग्राहीलाई देश निकाला गर्नुपर्छ भन्नेदेखि लिएर पैसा खाएर अनशन बसेको भन्नेसम्मको आरोप लगाइयो । केपी ओलीले आफ्ना गाउँसम्मका कार्यकर्तालाई पनि यस्तै भाषा लेख्न र बोल्न लगाउनुभयो । तर उहाँको केही पनि लागेन ।

जुम्लाबाट काठमाण्डौ ल्याउने बहानामा केसीमाथि दुव्र्यवहार नै भयो, तर पनि म ठीक हुँ, मबाहेक अरु सबै बेठीक भन्ने अहम् भावना ओलीमा देखियो । जनता भनेको केही होइन भन्ने अहंकार र दम्भपूर्ण व्यवहार देखियो ।

एउटा सामान्य नागरिक जो आस्था र विवेकको लागि लड्छ, निहत्था छ, जनताको हितमा लडेको छ, उसलाई केही पनि होइन भन्ने ? उल्टै हामीले भनेको बाहेक अरु कुरा हुँदैन भनेर सरकारले अडान लिन मिल्छ ? आखिरमा सम्झौता त गर्नै पर्ने रैछ नि ।

अहिले आएर कांग्रेसले वार्ता गर्न दिएन, भाँड्न खोज्यो भन्नेसम्मका अभिव्यक्ति प्रधानमन्त्री ओलीले दिन थालेका छन् । अब के लाज त्याग्न बाँकी रह्यो र ?

यो सरकारले फरक विचार राख्ने सबैमाथि दमन गर्न खोजेको छ । तर यस्तो व्यवहारमा उहाँहरु असफल हुनुभयो ।

प्रधानमन्त्री ओलीले नेपाली कांग्रेसलाई हारेको पार्टी भनेर चुरीफुरी नगर्न चेतावनी पनि दिनुभएछ । चुनावमा एकपटक हार्दैमा वा जित्दैमा घमण्ड गर्न सुहाउँदैन । उहाँले निर्वाचनमा मत पाउनुभयो, तर मत पाएँ भन्दैमा जनताको कुरा मान्दिन, कानुन, संविधान मान्दिन भन्न मिल्दैन ।

उहाँहरु त लोकतान्त्रिक मूल्य मान्यताविपरितको बाटोमा हिँड्नुभएको छ । केपी ओली झण्डै तीन चौथाई मतका साथ विजयी हुनुभएको छ । तर उहाँ प्रधानमन्त्री बनेको जनतको लागि हो ।

दम्भ र अहंकारको सिंहासनमा बस्नेहरु जनताको मतका अगाडि झुक्नुपरेको छ ।



प्रतिक्रिया दिनुहोस्