भ्रष्टाचार र अनियमितता नियन्त्रण गरिन्छ
काठमाडौँ, १२ साउन / प्रधानमन्त्री केपी शर्मा ओलीले कानूनको पालना, भ्रष्टाचारको नियन्त्रण र सुशासन कायम गर्न सरकार पूर्ण रुपमा क्रियाशील रहेको बताउनुभएको छ ।
उहाँले भन्नुभयो, “हामी भ्रष्टाचारको निर्मूल गरेर जनतालाई सुशासनको अनुभूति दिलाउन चाहन्छौँ । जनतालाई सरकार भएको अनुभूति गराउन चाहन्छौँ ।”
नेपाल टे«ड यूनियन महासंघ र अखिल नेपाल टे«ड यूनियन महासंघ केन्द्रीय एकता संयोजन समितिले आज यहाँ संयुक्त रुपमा आयोजना गरेको प्रशिक्षण कार्यक्रमलार्ई सम्बोधन गर्दै प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष ओलीले नेकपाको सरकार गठन भएको पाँच महिना मात्रै भएको भए पनि यही अवधिमा नै सबै बिगारेको जसरी प्रचार गरिएकामा आपत्ति प्रकट गर्नुभयो ।
“हाम्रो सरकार गठन भएको पाँच महिना भयो, भ्रष्टाचार बढेको, सुशासन नभएको, काठमाडौँका सडकमा खाल्डा यही सरकारले पारेको भने जसरी प्रचार भएको छ । विगतमा मुलुकलाई लुटपाट गर्नेले नै कोकोहोलो मच्चाएका छन्”–प्रधानमन्त्रीले भन्नुभयो, “यही पाँच महिनामा नेपाली जनतालाई हामीले गरीब बनाएको होइन, काठमाडौँको सडकमा खाल्डो पारेको पनि होइन । तर हामी गरिब नेपालीलाई समृद्ध बनाउँछांै र आगामी दुई वर्षभित्र काठमाडौँका सबै सडक हेर्न लायक बनाउँछौ ।”
उहाँले नेपालको पुरानो कलात्मकता, ऐतिहासिक धरोहरलाई जोगाएर आधुनिकता मिसाएर अगाडि बढाउने दृढता व्यक्त गर्दै धरहरा, रानीपोखरी, काष्ठमण्डपलगायत सम्पदाको पुनः निर्माण शुरु गरिने बताउनुभयो ।
‘मै बनाउँछु मेरो धरहरा’ भनेर आफूले दुईवर्ष पहिले शुरु गरेको अभियान जहाँ छोडेको त्यस्तै अवस्थामा रहेको भन्दै प्रधानमन्त्रीले भन्नुभयो, “अब शीघ्र धरहराको पुनःनिर्माण हुन्छ । धाँजा फाटेको रानीपोखरीसमेत बन्छ ।” शिलान्याश गरेर छाडेको धरहरा र रानीपोखरी पुनःनिर्माणमा सरकारले क्रमिक रुपमा काम शुरु गरेको जानकारी दिँदै प्रधानमन्त्रीले भन्नुभयो, “अब बन्छन् यी दुई वटै ऐतिहासिक सम्पदा । कुनै ढिलाइ गरिँदैन । काष्ठमण्डप ज्यूँका त्यूँ हुन्छ ।”
दुगर्मस्थानमा रहेका असुरक्षित बस्तीलाई सुरक्षित स्थानमा सान भन्दै प्रधानमन्त्रीले सेवा सुविधा पु¥याउनै नसकिने ठाउँलाई एकीकृत बस्तीका रुपमा परिणत गर्ने सोचमा सरकार रहेको स्पष्ट पार्नुभयो । अनुगमन र नियन्त्रण गर्न केही समय लाग्ने भए पनि अनावश्यक रुपमा सरकारको आलोचना गरेर कोकोहोलो मच्चाइएको भन्दै प्रधानमन्त्रीले आपत्ति प्रकट गर्नुभयो ।
प्रधानमन्त्रीले नेपालमा भित्र्याइने रकम बैंकिङ प्रणालीबाट मात्रै आउनुपर्नेमा जोड दिँदै गैरकानूनी तवरले कुनै पनि रकम ल्याउन नदिइने बताउनुभयो । उहाँले भन्नुभयो, “हुन्डी, कालोधन, गैरकानूनी चलखेल गर्न पाइदैन । सरकार त्यस्तो गतिविधिलाई सहदैन । अनियन्त्रित, गैरकानूनी कालोधन गुप्त बाटोबाट नेपालमा आउन पाउँदैन ।” उहाँले भ्रष्टाचार गर्न नपाइने र नदिइने उल्लेख गर्दै भन्नुभयो, “भ्रष्टाचार नियन्त्रण हुन्छ, भ्रष्टचारीलाई दमन हुन्छ । यो हाम्रो घोषित नीति हो ।”
माइतीघर मण्डलालाई विरोध प्रदर्शनस्थल बनाइएकामा समेत प्रधानमन्त्रीले आपत्ति प्रकट गर्नुभयो । उहाँले भन्नुभयो, “माइतीघरमा सात वटा बाटा छन् । दुर्घटना हुनसक्छ । सडक जाम हुन्छ, यसो अवसर पारेर दीप प्रज्वलन गर्नेसम्मको काम गर्न सकिन्छ । तर त्यस्तो स्थानमा नै किन विरोध गर्नुप¥यो । संसारभर नै विरोधका लागि स्थान तोकिएको हुन्छ, नेपाल मात्रै त्यस्तो देश जहाँ जसले पनि जुनसुकै स्थानमा विरोध गर्न पाइन्छ !”
उहाँले कृषिमा व्यावसायीकरण, आधुनिकीकरण, यान्त्रिकीकरण गर्दै मुलुकलाई आत्मनिर्भर बनाउने दृढता व्यक्त गर्नुभयो । नेपालमा जुनसुकै क्षेत्रमा पनि एकाधिकार रहेको भन्दै प्रधानमन्त्रीले यातायात क्षेत्रमा रहेको एकाधिकारको अन्त्य भएको र अरु क्षेत्रमा रहेको एकाधिकारसमेत छिट्टै अन्त्य हुने उल्लेख गर्नुभयो ।
उहाँले एकाधिकार हटेपनि त्यसलाई व्यवस्थापन गर्न केही समय लाने भन्दै त्यसका लागि सरकारले सबै प्रकारका विकल्पलाई खुला राखेर काम गरिरहेको स्पष्ट पार्नुभयो ।
नेपालको मजदुर आन्दोलनले विगतदेखि नै सफलता हासिल गर्दै आएको भन्दै प्रधानमन्त्रीले सरकार सधैँ मजदुरको पक्षमा रहेको र कुनै पनि मजदुर निराश हुनु नपर्ने गरी कार्यक्रम र योजना ल्याइने बताउनुभयो । मजदुर आन्दोलनको सफलताबाटै वर्तमान सरकार गठन भएको भन्दै उहाँले स्वदेशमा पनि सरकारको नीतिभित्र रहेर मजदुरलाई सेवा सुविधा उपलब्ध गराउनुपर्ने र विदेशमा समेत ठगी र गलत धन्दा गर्न÷गराउन नपाइने स्पष्ट पार्नुभयो ।
राष्ट्र निर्माणको महाअभियान शुरु भएको उल्लेख गर्दै प्रधानमन्त्रीले भन्नुभयो, “अब नेपाल गरीब रहन सक्दैन । कामको खोजीमा भौतारिएर हिँड्नु पर्दैन । मुलुकमा नै स्तरीय कामको व्यवस्था हुन्छ ।”
तुइन विस्थापित भयो
कार्यक्रममा प्रधानमन्त्रीले देशभरबाटै १०५ वटा तुइन विस्थापित भएर झोलुङ्गे पुल बनेको जानकारी दिनुभयो । आफ्नो पहिलो कार्यकालमा घोषणा गरेको कार्यक्रम अहिले आएर साकार भएकामा प्रधानमन्त्रीले खुशी व्यक्त गर्नुभयो ।
कलिला बालबालिका घिर्नीमा हात परेर रगतै भएर हिँड्नु परेको, तुइनबाट खस्ने अवस्थाको समेत अन्त्य भएको जानकारी दिँदै उहाँले केही समयभित्रै अन्य स्थानका समेत तुइन विस्थापन गरी झोलुङ्गे पुल निर्माण सम्पन्न हुने बताउनुभयो ।
कार्यक्रममा नेकपाका महासचिव विष्णु पौडेलले नेपालको कम्युनिस्ट एकता विश्व समुदायका लागिसमेत चर्चा र चासोको विषय भएको बताउनुभयो ।
उहाँले विवादलाई सहमतिमा रुपान्तरण गर्ने, जिम्मेवारी लिन र त्याग गर्न समेत तयार भएर एकतालाई सार्थक बनाउन समेत कार्यकर्तालाई निर्देशन दिनुभयो । कार्यक्रममा प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल, अखिल नेपाल टे«ड यूनियन महासंघका अध्यक्ष गणेश रेग्मी, नेपाल टे«ड यूनियन महासंघका अध्यक्ष विनोद श्रेष्ठलगायतको उपस्थिति थियो । (रासस)