Logo

केपी ओलीको बोलीको राजनीतिक महत्व छैन : एनपि साउद



साउन १३, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले काँग्रेसको आकार घटेर माइतीघर मण्डलामा आमसभा गर्ने अवस्थामा आइपुगेको भन्दै व्यङ्ग्य गरेपछि कांग्रेस नेताहरु आक्रोषित बनेका छन् ।

तत्कालिन एमाले र माओवादीका मजदुर संगठनहरु जिफन्ट र अन्टुफ केन्द्रीय संयोजन समितिद्वारा आयोजित केन्द्रीय प्रशिक्षण कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले शनिवार कांग्रेसप्रति व्यङ्ग्य गरेका थिए ।

“माइतीघरमा दुई सय जना जती मान्छे अट्लान् त्यती भएपछि खचाखच मान्छे थिए भन्न पनि पाइयो ।” प्रधानमन्त्री ओलीले भनेका थिए ।

नेपाली कांग्रेसका नेता एनपी साउदले माइतिघरमण्डलामा शान्तिपूर्ण विरोध गर्ने जनताको अधिकारलाई रोक्न खोजेको र नसकेपछि यस्ता कुतर्क गरेको बताएका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै नेता साउदले माइतिघरमा विरोध प्रदर्शन रोक्न खोज्दा नसकेपछि हास्यास्पद तर्क गर्न थालेको जिकिर गरेका हुन् ।

“उहाँले राजनीतिक उपयोगका लागि यस्ता कुरा बोल्नुहुन्छ । चटकीय पारामा उहाँले अभिव्यक्त गरेका यस्ता कुराहरुको राजनीतिक महत्व छैन ।” साउदले भने ।

पछिल्लो समय प्रधानमन्त्री केपी ओली शक्तिशाली भएको तर काम भने गर्न नसकेको साउदको आरोप छ ।

जनहितमा काम गर्नुको साटो करको दर र दायरा बढाएर जनताको ढाड सेक्ने काम गरेको साउदले बताए । “संघीय शासन प्रणाली जनताको पहुँच राज्यसँम्म पुगोस भनेर ल्याएका हौँ । अब अहिले मान्छे जन्मदा तत्काल कर लाग्ने, मर्दा किरिया खर्च दिनुपर्ने ठाउँमा कर लाग्ने, बाटो हिँड्दा पनि कर लाग्ने । यो त अनियन्त्रित शाषन पद्धति भयो ।”

जनतासँग कर लिएर मन्त्री र कर्मचारीको तलब बढाउने काम अहिलेको सरकारले गरेको उनले बताए ।



प्रतिक्रिया दिनुहोस्