१३ साउन, काठमाण्डौ । अखिल नेपाल किसान महासंघले संयुक्त राष्ट्रसंघको किसान अधिकारसम्बन्धी घोषणापत्र अनुमोदन गर्न सरकारसमक्ष माग गरेको छ ।
घोषणापत्रबारे दक्षिण एसियास्तरीय बैठक काठमाण्डौमा सम्पन्न भएको जानकारी दिदै महासंघले उक्त घोषणापत्र अनुमोदनको माग गरेको हो ।
आइतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर महासंघले किसान अधिकार घोषणपत्रलाई संयुक्त राष्ट्रसंघबाट पारित गराउनका लागि विश्व समुदायकोसमेत ध्यानाकर्षण गराएको हो ।
साउन ११ र १२ गते किसान तथा ग्रामिण क्षेत्रका अन्य श्रमिकहरुको अधिकार सम्बन्धी संयुक्त राष्ट्र संघबाट पारित हुन लागेको किसान अधिकारसम्बन्धी घोषणापत्रको बारेमा दक्षिण एसियास्तरीय बैठक काठमाण्डौमा सम्पन्न भएको भएको थियो ।
बैठकले काठमाण्डौ घोषणापत्रसमेत जारी गरेको पत्रकार सम्मेलनमा महासंघका सचिव दाताराम खनालले जानकारी दिए ।
मानवअधिकार आयोगले किसानहरुको अधिकारसम्बन्धी अगाडि सारेका विषयहरु स्विकार्दै खाद्य सम्प्रभुताको अधिकारका लागि संघर्ष अगाडि बढाउने महासंघले जनाएको छ ।
महासंघको प्रेस विज्ञप्तिमा भनिएको छ, “हामी किसानको जल, जमीन र कार्य क्षेत्रको सुरक्षा गर्दै किसानमाथि हुने विभेद र विउ विजनको अधिकार संरक्षणमाथि विश्व व्यापार संगठन, स्वतन्त्र व्यापार संगठनबाट हुने हस्तक्षेपको विरोध गर्दछौँ । पृथ्वी, धर्तीमाता र जलवायुको संरक्षण गर्दै खाद्य अधिकारको सुरक्षाका लागि हुने लडाइमा ऐक्यवता जाहेर गर्दछौँ ।”
त्यसैगरी महासंघले कृषि क्षेत्रमा हुने लैंगिक विभेदको विरोध गर्दै विज विजन, पानी, जिएमओ र विश्व व्यापार संगठनको हस्तक्षपको विरुद्धमा पनि ऐक्यवद्धता जाहेर गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
दुपत्रकार सम्मेलनमा बोल्दै महासंघका सहअध्यक्ष केशबलाल श्रेष्ठले दुई दिनसम्म चलेको बैठकमा नेपाल, भारत, बंगलादेश, पाकिस्तान र श्रीलंकाका विभिन्न किसान संघ संगठनका प्रतिनिधीको सहभागिता रहेको जानकारी दिए । उनीहरुले आफ्नो देशको कृषि तथा किसानका बारेमा संक्षिप्त प्रतिवेदन पेश गरेका थिए ।