Logo

संसद् र अदालत पार्टीको बन्दी : सत्तापक्षले बनायो संसदीय समितिलाई खेलौना



काठमाडौं १७ साउन ।  -दीपकराज जोशीको शैक्षिक प्रमाणपत्रमाथि प्रश्न अहिले उठेको हो । उनले दिएका आदेश भने पहिलेदेखि नै विवादमा थिए । तर, प्रधानमन्त्री केपी ओली अध्यक्ष रहेको संवैधानिक परिषद्ले उनलाई प्रधानन्यायाधीशमा सिफारिस गरेर विवादको बीजारोपण ग-यो ।

-सिफारिस संसदीय समितिमा पुगेपछि कानुनी प्रक्रियाअनुसार उजुरी आए । जोशीले गरेका फैसला र दिएका आदेशमाथि गम्भीर प्रश्नचिह्न उठ्यो । यहीवेला उनका परस्परविरोधी शैक्षिक प्रमाणपत्र पनि मिडियामा छरपस्ट भए । यिनै तथ्यका आधारमा उनलाई अस्वीकार गर्ने अधिकार, जिम्मेवारी र सुविधा संसदीय समितिलाई थियो ।

योबीचमा समितिमा प्रतिनिधित्व गर्ने सदस्यहरूलाई स्वतन्त्र रूपमा विचार गर्न नदिएर नेकपाले बिहीबारको बैठकलाई अनिर्णीत राख्यो, शुक्रबार र आइतबारको बैठक बस्ने वातावरणसमेत बनाउन सकेन । सोमबारको बैठकमा जोशीलाई अस्वीकृत गर्ने सत्तापक्षका सदस्यले प्रस्ताव राखे । तर, कांग्रेसले समय मागेको भन्दै बैठकलाई अन्योलमै छोडियो । दुई दिनपछि बुधबार कांग्रेसले असहमति जनाएको भन्दै बैठक फेरि दुई दिन पर सारियो ।

-१५ सदस्यीय सुनुवाइ समितिमा सत्तारुढ दल नेकपासँग मात्रै नौ सदस्य छन् । फोरमका एक सदस्यले समेत सहयोग गर्ने भएपछि १० अर्थात् स्पष्ट दुईतिहाइ पुग्छ । तर, कांग्रेसले असहमति जनाएको बहानामा सत्तारुढ दलले संसदीय समितिलाई अनिर्णयको बन्दी बनाएको छ । सर्वोच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीशको शैक्षिक प्रमाणपत्र र उनको आचरणमाथिको विवाद सडकमा छरपस्ट हुँदा पनि संसदीय समितिले सटिक निर्णय गर्न सकेको छैन । समितिमा रहेका नेकपाका सदस्यहरू हरपल पार्टी नेतृत्वको आदेश पर्खिरहेका छन् । तर, पार्टी नेतृत्वले खरो दृष्टिकोण बनाउन नसक्दा सर्वोच्च अदालतको नेतृत्वको साख सडकमा छ, अनिर्णयको बन्दी संसद्को गरिमासमेत घटेको छ ।

जोशीको विपक्षमा नबोल्न भन्दै सांसदको कन्चटमा पेस्तोल

नेकपाकी सांसद तथा संसदीय सुनुवाइ समितिकी सदस्य निरुदेवी पालले आफूलाई अज्ञात व्यक्तिले पेस्तोल ताक्दै ज्यान मार्ने धम्की दिएको बताएकी छिन् । पालका अनुसार मंगलबार साँझ करिब ८ बजे बानेश्वरको थापागाउँस्थित विद्यासदन हायर सेकेन्डरी स्कुलनजिकै अज्ञात समूहले पेस्तोल छातीमा ताकेर ज्यान मार्ने धम्की दिएको हो । निवासनजिकैको किनारा पसलबाट दूध किनेर फर्किने क्रममा एक अपरिचितले समातेर छातीमा पेस्तोल सटाएर ज्यान मार्ने धम्की दिएको पालले बताइन् ।

नयाँ पत्रिकासँग सांसद पालले भनिन्, ‘चिया खान मन लाग्यो । दूध सकिएको रहेछ । नजिकै रहेको किराना पसलमा दूध किन्न गएँ । दूध लिएर फर्कने क्रममा रेनकोट लगाएको एक अपरिचित मेरोसामु आयो । समातेर मलाई भित्तामा अँचेट्यो । उसको हातमा पेस्तोल थियो । मेरो छातीमा पेस्तोल सटाएर ज्यान मार्ने धम्की दिएर हिँड्यो । म आत्तिँदै कोठातर्फ लागेँ ।’

आइफोन लुटियो
उक्त व्यक्तिले आइफोनसमेत लुटेर लगेको पालले बताइन् । ‘संसदीय सुनुवाइ समितिमा थप कुरा राखिस् भने तेरो खड्केले पनि नभेट्टाउने गरी लास बेपत्ता गरिदिन्छु भन्दै धम्की दियो,’ पालले भनिन्, ‘मेरो आइफोन पनि खोस्यो ।’

प्रधानमन्त्रीका स्वकीय सचिवलाई फोन
घटनालगत्तै दौडिएर घरको छतमा पुगेकी पालले सुरुमा प्रधानमन्त्री केपी ओलीका स्वकीय सचिव राजेश बज्राचार्यलाई फोन गरेकी थिइन् । सांसद पालले भनिन्, ‘कोठामा एनसेलको अर्को फोन थियो । बलुवाटर फोन गरेँ, तर उठेन । पछि कल ब्याक आयो । मैले घटना विवरण स्वकीय सचिव बज्राचार्यमार्फत प्रधानमन्त्रीलाई जानकारी गराएँ ।’ नयाँपत्रिकाबाट



प्रतिक्रिया दिनुहोस्