Logo

खातीको चेतावनी : अदालतलाई निर्देशित र नियन्त्रण गर्न खोजे कसैको भलो हुँदैन्



काठमाडौं, १७ साउन ।  नेपाल बार एशोसिएशनका महासचिव खम्मबहादुर खातीले प्रस्तावित प्रधानन्यायाधीश दिपकराज जोशीलाई सुनुवाई समितिले न्यायालयलाई होच्याउनेगरि प्रश्न सोधेको गुनासो पोखे ।

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले भने,‘समितिका सदस्यहरुले जुन किसिमले प्रश्न सोध्नुभएको छ, यो अदालतलाई मानमर्दन र होच्याउनगरि सोधिएको छ । आज प्रश्न के हो भने हामी कस्तो पद्धती बसाल्न गैरहेका छौ भन्ने हो ।’

महासचिव खातीले प्रस्तावित प्रधान्यायाधीशको नाम समितिले अस्विकृत गरे उहाँको स्टाटस के हुने भन्दै प्रश्न समेत तेर्साए । उनले भने,‘उहाँको नाम अस्विकृत भयो भनेपनि उहाँ कायममुकायम प्रधानन्यायाधीश रहिरहनुहुन्छ। न्यायाधीको प्रमाणपत्रको बारेमा समितिलाई छलफल र अनुशन्धान गर्ने अधिकार छैन । हिजो ५ वर्षसम्म सर्वोच्चको न्यायाधीश हुँदा यो प्रश्न उठेन तर अहिले प्रधानन्यायाधीश हुन खोज्दा प्रश्न उठ्ने । यदि यो विषय उठ्यो भने संवैधानिक परिषद नै अयोग्य हुनेछ । किनकी संवैधानिक परिषदले तीन जनामध्ये जोशी नै योग्य र उपयुक्त व्यक्ति भनेर सिफारिश गरेको हो, यदि उहाँ अयोग्य हुनुहुन्थ्यो भने किन उहाँको नाम सिफारिश गर्यो त ? ।’

संविधान, ऐन र कानून विपरित गएर सरकारले स्वतन्त्र न्यायालयमाथि अंकुश लगाउने काम गर्न खोजेको उनको गम्भिर आरोप छ । उनले भने,‘सरकारले पार्टीको दृष्टिकोणले न्यायालयमा लविङ गर्यो । सरकारको यो गलत कदम देशको लागि भयानक र खतरनाक छ। सरकारसँग दुई तिहाई छ, त्यसैले उसले उत्तरदायीपूर्ण भूमिका निर्वाह गर्नुपर्छ ।’ अदालतलाई निर्देशित र नियन्त्रण गर्न खोजे यसले कसैलाई भलो नगर्ने उनको ठोकुवा छ ।



प्रतिक्रिया दिनुहोस्