Logo

बहुउपयोगी कृत्रिम जलाशय निर्माण



दाङ, १९ साउन । पानीको समस्या समाधान गर्न घोराही उपमहानगरपालिका यो वर्ष अभियानकै रुपमा पानी संरक्षणमा लागेको छ । पानीका मुहान जोगाउने र वर्षाको पानीलाई खेर जान नदिन यस्तो अभियान थालिएको हो ।

उक्त अभियानबाट जलवायु परीवर्तनको असर न्युनीकरण गर्न र वातावरणीय सन्तुलन राख्नुका साथै किसानको जीवनस्तरमा समेत सहयोग पुग्ने उपमहानगरपालिकाको अपेक्षा छ ।

उक्त उपमहानगरपालिकाले एक दर्जन कृत्रिम जलाशय बनाएको छ । यी जलाशयले स्थानीय किसानलाई बेमौसमी तरकारी खेतीदेखि माछापालनमा समेत सहयोग मिलेको छ ।

सो उपमहानगरपालिका–१७ आरोग्य टोलका अधिकांश किसानले धान रोपाइ सकिसकेका छन् । सिँचाइको पानी नलाग्ने एकाध स्थानबाहेका अन्यत्र यस्तै जलाशयको उपयोगले धानखेतीमा समेत प्रत्यक्ष फाइदा पुगेको उनीहरूले बताए ।

स्थानीय किसानले त्यसलाई आमा जलाशय पनि भनेका छन् । कृत्रिम जलाशयमा वर्षभरि जम्मा भएको पानीले अहिले आरोग्य टोललगायतका विभिन्न टोलमा गरी ५० विगाहा बढी जमिनमा ती जलाशयकै पानीबाट धान रोपिएको आरोग्य कृत्रिम जलाशय व्यवस्थापन समितिका अध्यक्ष हिरामणि पोखरेलले बताउनुभयो । ताल निर्माणसँगै किसानलाई वर्षे तथा हिउँदे खेती गर्न समेत सुविधा भएको उहाँको भनाइ थियो ।

सिँचाइसँगै तालमा पानी जम्मा हुँदा गाउँमा अहिले इनारसमेत सुक्न छाडेको आरोग्य टोलकै प्रकाश ज्ञवालीले बताउनुभयो । पहिलेका वर्षमा हिउँदे याममा स्थानीयलाई पिउनेपानीको समेत समस्या हुने गरेकामा पछिल्लो समय इनार सुक्न छाडेको ज्ञवालीले बताउनुभयो ।

टोल विकास संस्थाले पोखरीमा माछापालन गरेर आर्थिक आम्दानीसमेत गर्दै आएको छ । ज्ञवालीका अनुसार आरोग्य टोल विकास संस्थाले यस आर्थिक वर्ष तालबाट करीब रु ५० हजारको माछा बिक्री गरेको छ ।

उक्त रकम ताल संरक्षणसँगै टोल विकास संस्थाले उपयोगमा ल्याउने गरेको छ । ताल निर्माण वरपरको वातावरण हरियाली हुनुका साथै गाईभैँसीलाई पानी खुवाउन समेत सहज भएको छ । ताल करीब रु आठ लाखको लगानीमा निर्माण गरिएको थियो ।

त्यस्तै वडा नं १८को सालघारीमा पनि करीब २५ विगाहा जमिनमा धान रोपाइँ गरिएको स्थानीय फलबहादुर रेश्मीमगरले बताउनुभयो । कृत्रिम जलाशय निर्माणसँगै किसानलाई खेती गर्न सहज भएको उहाँले जानकारी दिनुभयो ।

कृत्रिम जलाशयकै निर्माणका क्रममा गाउँमा सडक सुविधा पनि पुगेको यहाँका बासिन्दाले बताए । पानीको स्रोत सुक्दै गएपछि उक्त उपमहानगरपालिकाले सुरुवात गरेको कृत्रिम जलाशय निर्माण गर्ने अभियानले पछिल्लो समय पानीको स्रोतको संरक्षणसँगै कृषि व्यावसायमा सिँचाइको समेत सुविधा पुग्ने गरेको उपमहानगरपालिका प्रमुख नरुलाल चौधरीले बताउनुभयो ।

“सुक्दै गएको पानीको स्रोत संरक्षण गर्ने उद्देश्यले कृतिम जलाशय निर्माणको कार्य थालनी गरेका थियौँ” प्रमुख चौधरीले भन्नुभयो, “पानीको मुहान संरक्षणसँगै किसानलाई खेतीमा सहयोग मिलेको छ ।” रासस



प्रतिक्रिया दिनुहोस्