Logo

मुसर्रफविरुद्धको राजद्रोहको मुद्दा ब्युताइने



काठमाडौँ, २० साउन । पाकिस्तानी एक विशेष अदालतले पाकिस्तानका पूर्व राष्ट्रपति जनरल प्रवेज मुशर्रफविरुद्धको राजद्रोह मुद्दालाई यही अगस्ट २० पछि पुनः सुनुवाई गर्ने भएको छ ।
लाहोर उच्च अदालतका प्रधान न्यायाधीश यवार अली, बलोचिस्तान उच्च अदालतका न्यायाधीश ताहिरा सरदार र सिन्ध उच्च अदालतका न्यायाधीश नजार अकबरले उक्त मुद्दालाई हेर्ने बताइएको छ ।

पाकिस्तानी मुस्लिम लिग–नवाज पिएमएल–एन को सरकारले सन् २०१३ मा दर्ता गराएको मुद्दामा मुशर्रफलाई सन् २००७ मा संकटकालको घोषणा गर्दा अवैध रूपमा सेनाको सहयोगमा देशको संविधानलाई निलम्वन गरेको आरोप लगाइएको छ । मुशुर्रफको नाम देश बाहिर भ्रमण गर्न नपाउने सूचीबाट हटेपछि स्वास्थ्यको कारण देखाउँदै उनि दुबई प्रस्थान गरेपछि उक्त मुद्दा सन् २०१६ देखि विचाराधीन अवस्थामा रहँदै आएको थियो ।

मुशर्रफको अनुपस्थितिमा उक्त मुद्दा प्रक्रियालाई अघि बढाउन नसकिएको हो । विशेष अदालतले मुशर्रफलाई दोषी घोषणा गरेको र उनको सम्पत्ति जफत गर्न भनिएको भएपनि अदालती कानूनी प्रक्रिया नपुगेको भन्दै अभियोग लगाइएको भने थिएन ।

मुशर्रफलाई पाकिस्तान फर्कने अन्तिम पटक मौका दिइएपनि उनि स्वदेश नआएकाले न्यायालयद्वारा उनको राष्ट्रिय परिचय पत्र र राहदानीलाई निषेध गर्न आग्रह गरिएको छ । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot