Logo

विकास निर्माणको काम रातारात हुन सक्दैन, २ वर्षभित्र सडकको खाल्डा पुरिन्छन् : रायमाझी



साउन २१, काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टीका नेता टोपबहादुर रायमाझीले सरकार सुरुमा अन्योल जस्तो देखिए पनि अहिले योजना र कार्यक्रम अगाडि बढेको दाबी गरेका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै नेता रायमाझीले विकास निर्माणका कामहरु तीब्र रुपमा अगाडि बढाउने उद्देश्यका साथ सरकारले काम गरिरहेको बताएका हुन् ।

सरकारले काम गर्न सकेन भन्नु निहुँ खोज्नु मात्रै भएको भन्दै उनले रातारात सबै काम गर्न नसकिने बताए । काठमाण्डौ उपत्यकाका अस्तव्यस्त सडकको उदाहरण दिदै रायमाझीले पुरानै योजना र कार्यक्रमअनुसार काम हुँदा ढिलासुस्ती भएको बताए ।

“विकास निर्माणको काम रातारात गर्न सकिदैन । प्रतिपक्षले निहुँ खोज्नका लागि मात्रै आरोप लगाएको हो । यद्यपी जति समस्याको समाधान हुनुपर्ने हो त्यति भएको छैन ।” रायमाझीले भने ।

काम गर्यो भने वर्षायाममा पैसा सक्नका लागि गर्यो भन्ने नगरे कामै गरेन भन्ने प्रवृत्ति ठीक नभएको उनको तर्क छ । केही कामका सवालमा भने उनले सरकारले तीब्रताका साथ काम गर्नुपर्ने बताए ।

“आफ्नो पालामा काम नगर्ने अनि सरकार बन्नेवित्तिकै कामै भएन भन्ने प्रवृत्ति राम्रो होइन । प्रतिपक्षी दल कांग्रेसले भनेजस्तो सरकारले कही पनि नगरेको होइन ।” उनले भने ।

अब भदौ र असोज महिनामा सरकारले देखिने गरी काम गर्ने रायमाझीको दाबी छ । “हिउद लागेपछि खाल्डाखुल्डी र धुलो उँड्ने समस्या समाधान हुन्छ । २ वर्षभित्रमा काठमाण्डौ लगायत देशभरका सडकका खाल्डा पुरिन्छन् ।” रायमाझीले भने ।



प्रतिक्रिया दिनुहोस्

Screenshot