Logo

गोलीको जवाफ ढुंगाले दिन सकिदैन, गोली नै चाहिन्छ : डिआइजी न्यौपाने(अन्तरवार्ता)



आइतबार साँझ काठमाडौंको काँडाघारीबाट अपहरित ११ वर्ष वर्षीय बालक निशान खड्काको हत्या भयो । ठिमी नगरपालिकास्थित एक घरभित्र हत्या गरिएको अवस्थामा खड्काको शव भेटिएको हो । निशानको अपहरण गर्ने २ जना अपहरणकारी पनि मारिए । घटनाको अनुसन्धान के भइरहेको छ ? अपराधिक घटना रोक्न नेपाल प्रहरी किन सफल हुन सकेन ? यिनै विषयबस्तुमा केन्द्रित रहेर नेपाल प्रहरीका डिआइजी तथा महानगरिय प्रहरी प्रमुख मनोज न्यौपानेसँग ऋषि धमलाले कुराकानी गरेका छन् । उक्त कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

निशान खड्का हत्याबारे अहिलेसम्मको तथ्य के हो ?
यो घटना अनुसन्धानकै प्रक्रियामा छ । अनुसन्धान सकिएपछि विस्तृत विवरण आउने नै छ ।

तर नेपाल प्रहरीले खड्कालाई जिवितै उद्दार गर्न सकेन नि ?
घटनबारे प्रहरीलाई जानकारी हुनासाथ तत्कालै अनुसन्धान सुरु गरिएको थियो । तर अफसोच, दुःखका साथ बालक मृत अवस्थामा फेला परे ।

तपाइहरुको खोजतलास त कमजोर देखियो नि ?
हामीलाई जानकारी आउनासाथ खोजतलास सुरु गरिएको हो । खोजतलास कमजोर भएको होइन ।

अपहरणकारी कसरी मारिए ?
अपहरणकारी दोहोरो भिडन्तमा मारिएका हुन् । पाइलटबाबाको आश्रम छेउमा पुग्दा अपराधिक समुहबाट फायर भयो । त्यसपछि प्रहरीले आत्मरक्षाका लागि फायर गर्दा २ जना मारिएका हुन् । गोलीको जवाफ ढुंगाले दिन सकिदैन । गोली नै चाहिन्छ । प्रहरीमाथि कोही जाइलाग्छ भने प्रहरीले जवाफी फायरिङ गर्नैपर्ने हुन्छ ।

यस्ता अपराधिक घटना नियन्त्रण गर्न प्रहरी असफल भएको हो ?
नेपाल प्रहरी सक्षम छ । तर यदाकदा यस्ता घटना घटेका छन् । अधिकांश घटनामा नेपाल प्रहरी सफल भएको छ ।

कस्तो अवस्थामा प्रहरीको भूमिका कमजोर हुन्छ
मुख्य कुरा त कुनै पनि घटनाबारे समयमा नै प्रहरीलाई जानकारी भयो कि भएन भन्ने कुरा हो । ढिलो गरी जानकारी प्राप्त हुँदा समस्या हुन्छ ।

जानकारी ढिला आउनुको कारण के हुन सक्छ ?
बाल बच्चा हराए भने पहिला आफैँ खोज्ने गरिन्छ । घर वरपर, साथीभाइ कतै गएको होला भन्ने लाग्छ । जब धेरै समयसम्म बच्चा फेला पर्दैन, त्यसपछि मात्रै प्रहरीलाई जानकारी गराइन्छ । सही समयमा सही सुचना प्राप्त भयो भने नेपाल प्रहरी सफल हुन्छ ।

अपराध नियन्त्रणका लागि जनता र प्रहरीबीचको सम्बन्ध कस्तो हुनुपर्छ ?
नेपाल प्रहरीको अहिलेको मुख्य नीति नै जनसहभागितामुलक, नागरिकहरुसँग हातेमालो गरेर, टोलटोलमा प्रहरी गएर काम गर्ने हो । जुनसुकै अपराधि पनि समाजमै बस्ने गरेको छ । त्यसैले समाजको सहयोग प्रहरीलाई चाहिन्छ । पछिल्लो समय नागरिकबाट पनि अपराधिक क्रियाकलाप रोक्नका लागि धेरै सहयोग भइरहेको छ ।

तर समाजमा अपराधका घटना त भइरहेका छन् नि ?
नागरिकले यसरी नै प्रहरीलाई सहयोग गर्ने हो भने अब टोलटोलबाट अपराधीहरु थुतिन्छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot