Logo

गोताखोर टोलीद्धारा हिमतालमा बेपत्ता विद्यार्थी खोज्न शुरु



सोलुखुम्बु, २३ साउन । हिमतालमा डुबेर बेपत्ता विद्यार्थीको उद्धार गर्न आएको सशस्त्र प्रहरीको गोताखोर टोलीले आज बिहानदेखि काम शुरु गरेको छ ।
मङ्गलबार हेलिकोप्टरमार्फत नाम्चे पुगेको टोलीले आज बिहान ९ः४५ बजेदेखि काम शुरु गरेको प्रमुख जिल्ला अधिकारी नरेन्द्रकुमार रानाले जानकारी गराएका छन । ४८ मिटर गहिरो सो हिमतालमा डुबेर बेपत्ता विद्यार्थीको टोलीले उद्धार गर्ने विश्वास लिइएको छ ।

मङ्गलबार दिउँसो २ बजे खुम्बु पासाङल्हामु गाउँपालिकाको मच्छेरमुमा अवतरण गराइएको टोली तीन घण्टाको पैदलयात्रा पछि साँझ गोक्यो पुगेको थियो । गोक्योमा नै अवतरण गर्ने योजना भए पनि मौसमको प्रतिकुलताका कारण मच्छेरमुमा अवतरण गरिएको खुम्बु पासाङल्हामु गाउँपालिका– ४ का वडाध्यक्ष लक्ष्मण अधिकारीले जानकारी गराए।

जिल्लामा तालीम प्राप्त जनशक्ति र साधन नहँुदा उद्धारमा समस्या भएकाले सशस्त्र प्रहरीका प्रहरी नायब निरीक्षक रामचन्द्र खड्काको नेतृत्वको पाँच गोताखोर गोक्यो आएका हुन् ।

खुम्बु पासाङल्हामु गाउँपालिकाका जनप्रतिनिधि, प्रतिनिधिसभा सदस्य हेमकुमार राई, प्रदेशसभा क का सांसद उत्तमकुमार बस्नेत र प्रदेशसभा ख का सांसद बुद्धिकुमार राजभण्डारीको पहल तथा जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुको समन्वयमा गृहमन्त्रालयले गोताखोरको टोली गोक्यो पठाएको प्रजिअ रानाको भनाइ छ ।

उद्धारका लागि सम्पूर्ण व्यवस्थापनको जिम्मा खुम्बु पासाङल्हामु गाउँपालिकाले लिएको छ । भौगोलिक विकटताको कारण पैदलयात्रामार्फत पुग्न सक्ने सम्भावना नभएपछि हेलिकोप्टरको माध्यमबाट आउने जाने गरिएको छ । हेलिकोप्टरसहितको व्यवस्थापनको सम्पूर्ण कामको जिम्मेवारी खुम्बु पासाङल्हामु गाउँपालिको लिएको गाउँपालिका अध्यक्ष ङिमदोर्जी शेर्पाले बताए । रासस



प्रतिक्रिया दिनुहोस्