Logo

मुलुकमा शान्ति, सुरक्षाको अवस्था नाजुक छ : सुदिप पाठक



काठमाडौं, २३ साउन । राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदिप पाठकले मुलुकमा पछिल्लो समय शान्ति, सुरक्षाको अवस्था अत्यन्तै नाजुक रहेको बताएका छन् । उनले भने,‘पछिल्लो समय अपराधका घट्नाहरु जताततै घटिरहेका छन् । जनताले शान्ति, सुरक्षाको अनुभुति गरिरहेका छैनन् ।’

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘अहिले देशैभरि शान्ति र सुरक्षाको अवस्थाप्रति प्रश्न गर्ने अवस्था छ । अब सरकारले मुलुकको शान्ति, सुरक्षा र सुव्यवस्था कायम गर्न बेलैमा प्रभावकारी कदम चाल्नुपर्छ । विधि र विवेकसम्म्त ढंगले कानूनको प्रयोग गर्नुपर्छ ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै पाठकले आयोगमा पछिल्लो समय हत्या, हिंसा र बलात्कारजस्ता आपराधिक घट्नाका उजुरीहरु ह्वात्तै बढेकोपनि सुनाए । उनले भने,‘पछिल्लो दुई महिनाको अवधिलाई हेर्ने हो भने अहिले हत्या र हिंसाका घट्नाहरु बढिरहेका छन् । यसको संकेत भनेको मुलुकको शान्ति र सुरक्षा अवस्था नराम्रो हुने दिशामा अघि बढिरहेको छ ।’

आपराधिक घट्नाको अनुशन्धानमा खटिने प्रहरी अधिकृतहरुलाई पर्याप्त उपकरणसहित विशेष तालिमको व्यवस्था गर्नुपर्नेमा उनको जोड छ । उनले भने,‘अहिले प्रहरीको अनुशन्धानप्रति जनताको विश्वास घटेको छ । यसलाई प्रहरीले सुधार गर्नुपर्छ । सम्बन्धित निकायलेपनि यसबारे ध्यान पुर्याउनुपर्छ ।’

पाठकले सम्बन्धित निकायले बलात्कारको घट्नामा मिलापत्रको लागि दबाब दिनु गलत भएको भन्दै यस्तो गलत दबाब दिने प्रवृत्तिको अन्त्य गर्नुपर्ने धारणा समेत राखे । उनले भने,‘बलात्कारसम्बन्धी सम्मानित अदालतबाट भएका फैसलाहरुको कार्यान्वयन समेत हुन सकेका छैनन् । यो नाजुक अवस्थाको पनि अन्त्य गर्नुपर्छ । हाम्रो समाज अस्वस्थ छ । बलात्कार त मानसिक रोग हो ।’

पछिल्लो समय सामाजिक सञ्जालका कारण समेत बलात्कारका घट्नाहरु बढिरहेको तथ्यांकले देखाएको उनले सुनाए । पाठकले भने,‘०७४/०७५ सालमा बलात्कारका घट्नाहरु १ हजारजति दर्ता भएर कानुनी प्रक्रियामा अघि बढेको छ । तीमध्ये १० वर्ष मुनिका २५ प्रतिशत र १५ वर्ष मुनिका ३५ प्रतिशत रहेका छन् ।’

उनले बलात्कारका घट्नाहरु न्यूनीकरण गर्नको लागि सामाजिक र कानुनी दुवै प्रक्रियाबारे सोच परिवर्तन गर्नुपर्ने आवश्यकत्ता औंल्याए । पाठकले थपे,‘अपराधीहरुलाई दण्ड सजायको दायरामा ल्याउने कुरापनि एकदमै फितलो भैरहेको छ । यसमा सम्बन्धित निकायले ध्यान पुर्याउनुपर्छ ।’

पाठकले भक्तपुरमा हालै घटेको बालक निशान खड्काको हत्या र प्रहरी ईनकाउन्टरमा दुई युवा मारिएको घट्नाबारे आयोगले विशेष अनुशन्धान टोली गठन गरी आजैबाट छानबिन तथा अनुशन्धान टोलीलाई फिल्डमा पठाएको जानकारी दिए ।

उनले भने,‘प्रहरी ईनकाउन्टरमा मारिएका दुई युवाका परिवारले आयोगमा आएर आफ्नो छोराहरुलाई हत्या नै गरेको भनेर उजुरी दिएको छ । उनीहरुको डेलिगेशन नै आएर उजुरी दिएकोले हामीले पनि घट्नाको अनुशन्धान गर्नको लागि टोलीलाई फिल्डमा खटाएका छौं ।’

त्यस्तै उनले कञ्चनपुरमा बालिकाको बलात्कारपछि हत्या भएको घट्नाको पनि आयोगले क्षेत्रीय कार्यालयमार्फत अनुशन्धान गरिरहेको जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्