Logo

मेरो कार्यकाल चुनौतीपूर्ण र सफल रह्योः प्रधानसेनापति क्षत्री



काठमाडौं, २४ साउन । प्रधानसेनापति राजेन्द्र क्षत्रीले आफ्नो कार्यकाल समग्रमा सफल रहेको बताएका छन् । उनले आफूले नेपाली सेनाको नेतृत्व गरिरहँदाको समय चुनौतीपूर्ण रहे पनि सकारात्मक र प्रभावकारी भएको बताएका हुन् ।

आफ्नो ४० वर्षे सैनिक सेवाबाट विदा हुन लागेका प्रधानसेनापतिले आज सेनाका सकलदर्जालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । भदौ २४ गतेदेखि अवकाश पाउन लागेका प्रधानसेनापति आजदेखि विदा बस्दैछन् । अवकाश पाउन लागेका प्रधानसेनापति पछिल्लो १ महिना विदा बस्ने परम्परा चलिआएको छ । सोहीअनुसार क्षत्री पनि विदा बस्न लागेका हुन् ।

सैनिक मुख्यालय जंगी अड्डामा सकल दर्जालाई सम्बोधन गर्दै प्रधानसेनापति क्षत्रीले आफ्नो कार्यकालमा राष्ट्रिय सुरक्षा नीति तयार भई राजपत्रमा प्रकाशित भएको, तीन वटा पृतना, दुई वटा बाहिनी खडा भएको, विशेष फौज गुल्म, महिलाका लागि गोरखकाली गुल्म खडा भएको उल्लेख गरे । सेनाको नेतृत्व लिएलगत्तै १० बुँदे मार्ग निर्देशन विसं २०७२ जारी गरेर कामको थालनी गरेका प्रधानसेनापति क्षत्रीले बिदाइ सम्बोधनमा आफ्नो कार्यकालमा संगठनमा भएका सुधार र उन्नतिको चर्चा गरेका थिए ।

प्रधानसेनापति क्षत्रीले २०७२ साल भाद्र २४ गते नेपाली सेनाको प्रधानसेनापतिको कमाण्ड सम्हालेका थिए । प्रधानसेनापति क्षत्री २०३५ सालमा तत्कालीन शाही नेपाली सैनिक शिक्षालय, खरिपाटीबाट अधिकृत क्याडेट तालिममा उत्कृष्ट नतिजा हासिल गरी राजदल गणमा सहायक सेनानी दर्जामा नियुक्त भएका थिए । नेपालको इतिहासमा नेपाली सैनिक शिक्षालयबाट आयुक्त पद प्राप्त गरी प्रधानसेनापति पदमा नियुक्त हुने महारथी क्षत्री पहिलो व्यक्ति हुन् । नेपाली सेनाको ४२औँ प्रधानसेनापति बनेका क्षत्रीले प्रतिविद्रोह तथा जंगल युद्धकला, जुनियर स्टाफ, गुल्मपति र गणपति तालिमहरूमा उत्कृष्ट नतिजा हासिल गरेका थिए ।

प्रधानसेनापति क्षत्रीले नेपाली सेनाको ४२ औं प्रधानसेनापतिका रुपमा आफ्नो कार्यकाल पूरा गरी आजदेखि बिदामा बस्न लागेपछि अब प्रधानसेनापतिको जिम्मेवारी बलाधिकृत रथी पूर्णचन्द्र थापाले सम्हाल्नेछन् । यद्यपि थापा हाललाई कायममुकायम प्रधानसेनापति हुनेछन् । उनी भदौ २३ गते मात्र प्रधानसेनापति हुनेछन् । प्रधानसेनापति राजेन्द्र क्षत्रीले सैनिक मुख्यालय जंगी अड्डामा बिहीबार आयोजित विशेष समारोहमा बलाधिकृत रथी थापालाई नेपाली सेना बरबुझारथ गरेका छन् ।

बलाधिकृत रथी थापाले भदौ २३ गतेदेखि मात्र नेपालको ४३औँ प्रधानसेनापतिको पूर्ण जिम्मेवारी सम्हाल्ने छन् । विसं २०१७ भदौ २५ गते जन्मिएका बलाधिकृत थापा विसं २०३६ मा नेपाली सेनाको अधिकृत क्याडेटमा भर्ना भएका थिए ।

१४ पृष्ठ लामो सम्बोधनमा प्रधानसेनापति क्षत्रीले दिन प्रतिदिन सेनाको जिम्मेवारी बढ्दै गएकाले यसको दायरा पनि फराकिलो भएको र पुर्खाले निर्माण गरेको बलियो जगमा उभिएर सबै शक्तिहरूसँग हातेमालो गर्दै चुनौतीको सामना गर्न र अवसरहरूको सदुपयोग गर्दै जनताको भरोसाको केन्द्रको रूपमा रहन सकल दर्जालाई निर्देशन समेत दिए ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot