Logo

नेपालमा मोबाइल प्रयोगकर्ता यति धेरै ? कसरी विश्वास गर्ने ?



साउन २४, काठमाण्डौ । नेपालीका लागि मोबाइल अनिवार्य आवश्यकता जस्तै भइसक्यो । पछिल्लो समय मोबाइल प्रयोगकर्ताको संख्या ह्वात्तै बढेको छ । प्रयोगकर्ताको संख्या बढेसँगै आयात पनि तीव्ररुपमा बढिरहेको छ । यो वर्ष मात्रै करिब २५ अर्ब बराबरको मोबाइल नेपाल भित्रिएको छ ।

आर्थिक वर्ष २०७३–७४ मा २२ अर्ब ६६ करोडको मोबाइल आयात भएकोमा यो वर्ष बढेर २४ अर्ब ८७ करोडमा पुगेको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ । तथ्याङ्कअनुसार गतवर्ष २ अर्ब २१ करोड बढी मूल्यको मोबाइल आयात भएको हो । विभागको तथ्यांकअनुसार गत वर्ष २ लाख ६८ हजार बढी फोन आएको छ ।

आर्थिक वर्ष २०७३–७४ मा ५९ लाख ५५ हजार वटा मोबाइल सेट आयात भएकोमा गत वर्ष यो संख्या ६२ लाख २३ हजारमा पुगेको छ । गत वर्ष मोबाइल सेटको आयात झण्डै ५ प्रतिशतले बढेको हो । पछिल्ला वर्षहरुमा क्रमश मोबाइल आयात बढ्दै गएको छ । दूर संचारसेवा विस्तार भएसँगै गाउँगाउँमा पनि मोबाइल प्रयोगकर्ताको संख्या बढिरहेको छ । शहरी क्षेत्रमा महंगा मोबाइल सेटहरुको माग बढ्दै गएको छ । जस कारण संख्या रकम बढिरहेको छ ।

नेपाली बजारमा १० हजारभन्दा महंगा र ३० हजारसम्म मूल्य भएका मोबाइलको माग बढिरहेको छ । गत वर्ष सबैभन्दा बढी फोन चीनबाट आयएको थियो । ५४ लाख १३ हजार वटा सेट चीनबाट भित्रिएको विभागको तथ्यांकले देखाउँछ । जुन, १९ अर्ब ७२ करोड मूल्य बराबरको हो । चीनबाट मोबाइल भित्र्याउँदा मात्रै ब्यापारीले २ अर्ब ६८ करोड भन्सार तिरेका छन् ।

चीनपछि नेपालमा भियतनामबाट धेरै मोबाइल आउँछ । गत एक वर्षको अवधिमा भियतनामबाट मात्रै ५ लाख १० हजार मोबइल सेट नेपाल आएको देखिन्छ । भियतनामबाट ४ अर्ब ७२ करोड मूल्य बराबरको सेट आउँदा सरकारले ६४ करोड ४९ लाख राजश्व उठाएको छ । मोबाइल धेरै आउने मुलुकको सूचीमा भारत तेस्रो स्थानमा छ । एक वर्षभित्र भारतबाट २ लाख ९५ हजार वटा मोबाइल सेट नेपाल आएका छन् । जसका लागि नेपाली ब्यवसायीले भारतमा ३८ करोड ८६ लाख खर्चिएका छन् । सरकारले भारतबाट भित्रिएका मोबाइलबाट मात्रै ५ करेड १४ लाख रुपैयाँ भन्सार असुल गरेको विभागको तथ्यांकमा देखिन्छ ।

त्यसबाहेक नेपालले अमेरिका, कोरिया लगायतका मुलुकबाट पनि सानै संख्यामा भएपनि मोबाइल सेट भित्र्याएको छ । दूर संचार सेवा प्रदायक कम्पनीको सेवा र सुविधा थपिदै जाँदा मोबाइल प्रयोग गर्नेहरु पनि थपिएका हुन् । नेपाल टेलिकमको सिमबाट इन्टरनेट सेवा लिनेको संख्या एक करोड पुगेको छ ।

त्यसैगरी टेलिकमको सिम १ करोड ९२ लाखको हाराहारीमा विक्रि भइसकेको छ । । अर्को कम्पनी एनसेलको सिम झण्डै दुई करोड विक्रि भइसकेको छ ।



प्रतिक्रिया दिनुहोस्